एनआरएनए नर्वेद्धारा जटिल आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय

नर्वे : गैर आवासीय नेपाली संघ (एनआरएनए ) नर्वेले कोरोना भाइरसको कारण जटिल आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ । गैर आवाशीय नेपाली संघ, नर्वेको आयोजनामा नर्वे स्थित विभिन्न संस्थाका प्रतिनिधिहरुसँगै हालै भएको बैठकले कोरोना भाइरसको कारण उत्पन्न वर्तमान जटिल परिस्थितिको बारेमा छलफल गर्दै सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले महामारीबाट आर्थिक सहितको आधारभूत आवश्यकता (गाँस, बाँस र कपास) पनि पुरा गर्न नसकी समस्यामा परेका दाजुभाई तथा दिदीबहिनीहरुको पहिचान गर्दै सकेको सहयोग गर्ने निर्णय गरेको एनआरएनए नर्वेले जनाएको छ।

यसको लागी एनआरएनए, नर्वेको संयोजकत्वमा सबै संस्थाका प्रतिनिधिहरु सम्मिलित  मूल कार्यसमिति गठन गरिएको छ।
जसमा एनआरएनए अध्यक्ष नयन मल्लको संयोजकत्वमा समिति गठन गरिएको हो । समिति सदस्यहरुमा रत्न सापकोटा, विश्वास बजगाईं, पारसमणि मिश्र, भुवन पौडेल, तसौवर खान, असिम लम्साल, सागर अर्याल, बिक्रम बस्नेत, नेत्र तिमल्सिना, डिल्ली प्रसाद रिजाल र पवित्र बस्नेत रहनुहुन्छ ।

बैठकले यस कमिटीले समस्यामा रहनु हुनेको पहिचान गर्ने, एक साझा सहयोग कोष खडा गर्ने र सहयोग गर्ने निर्णय गर्ने भएकाले समस्यामा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले यथासिघ्र यस कमिटिका सदस्यहरुलाई आफ्नो समस्या लिखित रुपमा अवगत गराउनु हुन अनुरोध गरिएको छ ।

साथै नर्वेबासी कोही नेपालीहरु क्वारेण्टिन र आइसोलेसन हुनुहुन्छ भने पनि यथासिघ्र एनआरएनए, नर्वेलाइ जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ । यो सम्बन्धी सूचना गोप्य राखिने जनाइएको छ।


प्रकाशित | १७ चैत्र २०७६, सोमबार ००:५८