न्यूयोर्क: न्यूयोर्क राज्यका सिटीहरु खोल्नका लागि गभर्नर एन्ड्रयु कुमोले विभिन्न ७ मापदण्डहरु तय गरेका छन् । अहिलेसम्म न्युयोर्क सिटीले भने तीमध्ये ४ वटामात्र मापदण्ड पूरा गरेको छ । न्युयोर्क राज्यका अन्य सिटीको तुलनामा न्युयोर्क सिटी सबैभन्दा ढिलो खुल्ने देखिएको छ ।
मापदण्ड पूरा गर्नका लागि न्युयोर्कमा अस्पताल भर्ना हुने दरमा कमी आउन आवश्यक रहेको छ । त्यस्तै निश्चित प्रतिशत अस्पतालका बेडहरु खाली हुन र आईसीयुहरु खाली हुन आवश्यक रहेको छ ।
राज्यका १० वटा क्षेत्रमध्ये ३ वटा क्षेत्रहरु साउदर्न टियर, फिंगर लेक र मोहक भ्यालीले भने सातवटै मापदण्डहरु पूरा गरेका छन् । यी क्षेत्र मे १५ पछि खुल्ला हुने अपेक्षा गरिएको छ ।
त्यस्तै सेन्ट्रल न्युयोर्क र नर्थ कन्ट्रीले पनि ६ वटा मापदण्ड पूरा गरिसकेका छन् । तर यी क्षेत्र खोल्नका लागि मासिक कोरोना भाइरसको परीक्षण क्षमता बढाउने मापदण्ड पूरा गर्न आवश्यक छ ।
न्युयोर्क सिटीले अहिलेसम्म पूरा गरेका ४ मापदण्डमा अस्पतालमा भर्ना हुने दरमा १४ दिन लगातार आएको कमी, मृत्यु हुने दरमा १४ दिनमा लगातार आएको कमी, कोरोना भाइरसको परीक्षणका लागि उचित क्षमता, कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको अनुसन्धानका लागि प्रयाप्त ट्रेसर लगायत रहेका छन् ।
प्रकाशित | ३० बैशाख २०७७, मंगलवार ०८:४१

