सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले मनोवैज्ञानिक असर बढ्दो, बेवास्ता गर्नु खतरनाक

काठमाडौं, जेठ ४— सूचना, सम्बन्ध र सिर्जनात्मकता प्रवाह गराउने सामाजिक सञ्जालले युवाको जीवनशैलीमा नयाँ ऊर्जा भरेको छ । तर, यसकै कारण मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको एक अध्ययनले देखाएको छ। Pew Research Center ले सन् २०२५ को सुरुमा गरेको अध्ययन अनुसार, अमेरिकाका १३ देखि १७ वर्ष उमेर समूहका करिब १,४०० किशोर-किशोरी र उनीहरूका अभिभावकहरू सहभागी अध्ययनमा सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको पुष्टी भएको हो। अध्ययन अनुसार, ४८ प्रतिशत किशोर-किशोरीले सामाजिक सञ्जालले अरू साथीहरूको मानसिक स्वास्थ्यमा असर पार्छ भनेका छन्। तर, आफूमा भने त्यसको असर परेको कुरा केवल १४ प्रतिशतले मात्र स्वीकार गरेका छन्। यसले उनीहरूमा प्रभावको सचेतता त देखिएको तर स्वीकार गर्न हिच्किचाहट रहेको संकेत गर्दछ।

किशोरीहरू बढी प्रभावित

अध्ययनमा सामाजिक सञ्जालको असर लिङ्गीय हिसाबले फरक देखिएको छ। किशोरीहरू सामाजिक सञ्जालबाट किशोरहरूभन्दा बढी प्रभावित हुने देखिएको छ। इन्स्टाग्राम, स्न्यापच्याट जस्ता प्लेटफर्ममा देखिने सौन्दर्यको कृत्रिम प्रतिस्पर्धा, फिल्टर गरिएको जीवनशैली र सामाजिक मान्यताले किशोरीहरूमा आत्मसम्मानमा ह्रास, तनाव, अनिन्द्रा र तुलना गर्ने प्रवृत्ति बढाएको बताइएको छ। विशेषज्ञहरूका अनुसार, यसले किशोरीहरूको आत्मबलमा गम्भीर असर पारिरहेको छ।

अभिभावकको चिन्ता

Pew Research Center को अध्ययनमा सहभागी ५५५ जना अभिभावक मध्ये धेरैले आफ्ना छोराछोरीको मानसिक स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले युवाहरूको अनलाइनमा अत्यधिक समय बिताउने बानी, सामाजिक सम्पर्कमा कमी र निद्राको अभाव जस्ता समस्यालाई मुख्य कारणका रूपमा देखाएका छन्। यद्यपि, धेरै अभिभावकहरू छोराछोरीसँग संवाद गर्ने प्रयासमा भएपनि पुस्तागत सोचको भिन्नता र प्राविधिक दूरीका कारण ती संवादहरू अपूरा हुने गरेको अध्ययनले देखाएको छ।

सकारात्मक पक्ष

नकारात्मक असरका साथसाथै अध्ययनले सामाजिक सञ्जालका सकारात्मक पक्षहरू पनि उजागर गरेको छ। ६३ प्रतिशत किशोर-किशोरीले सामाजिक सञ्जाललाई आफ्नो सिर्जनशीलता, पहिचान र विचार व्यक्त गर्ने माध्यमको रूपमा उपयोग गर्ने गरेका छन्। टिकटक, युट्युब लगायतका प्लेटफर्ममार्फत उनीहरूले आफ्ना कला, संगीत र लेखन प्रस्तुत गर्दै आत्मविश्वासको विकास गरिरहेको अध्ययनमा उल्लेख गरिएको छ।

निष्कर्ष र सुझाव

अन्ततः, अध्ययनले सामाजिक सञ्जालको सीमित प्रयोग र विद्यालयस्तरमै डिजिटल मानसिक स्वास्थ्य शिक्षा अनिवार्य बनाइनुपर्ने सुझाव दिएको छ। अध्ययनले सामाजिक सञ्जालको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै, यसको अन्धाधुन्ध प्रयोगले पार्ने मनोवैज्ञानिक असरप्रति सबै पक्ष सचेत हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ।


प्रकाशित | ४ असार २०८२, बुधबार २१:४७