धुलिखेल : धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति बीच मंगलबार भेटघाट भएको छ। भेटमा उहाँहरुबीच पालिकाबाट सम्पादन हुने कार्यबारे अनुभव आदानप्रदान गरिएको छ ।

प्रमुख ब्यान्जुले नगर प्रमुख प्रजापति, भनपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वसहितको टोलीलाई आफ्नो कार्यालयमा स्वागत गर्नुभएको थियो ।

सोही क्रममा धुलिखेल नपाका प्रमुख अशोक ब्यान्जुले धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनमा उपलब्धीमूलक प्रगति हासिल गर्दै आइरहेको र प्राकृतिक रुपमा सुन्दर नगरपालिका भएको चर्चा गर्नुभयो । उहाँले धुलिखेललाई विश्व स्वास्थ्य संगठनले नेपालको पहिलो स्वस्थ शहर घोषणा गरी पुरस्कृत समेत गरेको बताउँदै खानेपानी, गरिबी निवारणको क्षेत्रमा दिगोविकासको लक्ष्य हासिल गरिसकेको बताउनुभयो ।

धुलिखेल नगरपालिकाले धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयअन्तर्गत सञ्चालित मेडिकल कलेज स्थापनामा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट पार्दै प्रमुख ब्यान्जुले नपाले ९६ प्रतिशत जनताको घरघरमा खानेपानी वितरण गर्न सफल भएको बताउनुभयो ।

नागरिकले लिने सबै सेवा सुविधालाई डिजिटल बनाउने विषयलाई अगाडि बढाएको बताउँदै उहाँले धुलिखेल नपाले नगरको भौतिक पूर्वाधार विकाससँगसँगै सामाजिक क्षेत्रमा पनि केन्द्रित भई काम गर्दै आएको बताउनुभयो ।

भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ लगायतका क्षेत्रहरुमा भइरहेको विविध गतिविधिबारे प्रष्ट पार्दै भक्तपुरका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एक मनको एकताले भक्तपुरले आजको प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।
विद्यार्थीहरुलाई शैक्षिक ऋण र छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा अध्ययन गर्न सघाऊ पुर्याउँदै आएको बताउँदै उहाँले नागरिकको भावनाबमोजिम नगरपालिकाले सेवाप्रवाहमा जोड दिँदै आएको बताउनुभयो ।

भेटपश्चात दुई नगर प्रमुखबीच नगरपालिकाका प्रकाशन र मायाको चिनो आदानप्रदान गरिएको थियो।
प्रकाशित | १७ असार २०८२, मंगलवार २१:०७

