स्वास्थ्य बीमा कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि धुलिखेल नगरपालिकाद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

धुलिखेल, साउन १५ – धुलिखेल नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष  ज्ञापनपत्र बुझाएको छ।

धुलिखेल नगर प्रमुख अशोक कुमार ब्याञ्जुले प्रधानमन्त्री ओलीसमक्ष  ज्ञापनपत्र बुभाउनु भएको हो । ज्ञापनपत्रमा स्वास्थ्य बीमा अन्तर्गत गुणस्तरीय सेवा उपलब्ध गराउने जिम्मेवारी पाएको धुलिखेल अस्पताललाई पहिलो सेवा केन्द्रको रुपमा मान्यता नदिइएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।

May be an image of 3 people, lighting, suit and indoors

ज्ञापनपत्रमा गत असारमा  जारी स्वास्थ्य बीमा बोर्डको सूचनाले सेवा प्रवाहमा अवरोध पुर्‍याएको भन्दै यसले नागरिकलाई सुलभ सेवा पाउने अधिकारबाट वञ्चित बनाएको उल्लेख गरिएको छ। नगरपालिका भित्रका ९८.९९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।  धुलिखेल अस्पतालबाट दैनिक एक हजारभन्दा बढी नागरिकले स्वास्थ्य बीमा अन्तर्गत सेवा लिँदै आएका छन्। तर नयाँ व्यवस्थाले ती सबै सेवाग्राही अन्यत्र जान बाध्य पारिएको नगरपालिकाको भनाइ छ।

धुलिखेल अस्पताल काभ्रेका विभिन्न पालिका, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीलगायत जिल्लाबाट आउने सेवाग्राहीका लागि सहज र भरपर्दो केन्द्र भएको  नगर प्रमुख अशोक कुमार ब्याञ्जुले  स्पष्ट पार्नु भयो । यस्तो अवस्थामा सेवा दिने अस्पताललाई केन्द्रबाट हटाउनु नीतिगत भ्रम सिर्जना गर्नुका साथै जनताको हकमा कुठाराघात भएको उल्लेख गरिएको छ।

धुलिखेल नगरपालिका विश्व स्वास्थ्य संगठन डब्लुएचओले स्वास्थ्य शहरको मान्यता दिएको नेपालकै एकमात्र पालिका हो ।  धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रको प्रवर्धनात्मक, प्रतिकात्मक तथा उपचारात्मक सेवामा सक्रियतापूर्वक कार्य गर्दै आएको छ। यिनै प्रयासहरूको मूल्याङ्कनका आधारमा विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट  स्वास्थ्य शहरको रूपमा धुलिखेललाई सन् २०२४ मा औपचारिक मान्यता प्रदान गरिएको हो।

नगरले स्वास्थ्य सेवामा देखिएको समस्याको समाधान तत्काल खोज्न आग्रह गरेको छ। साथै स्वास्थ्य बीमा ऐन, नियमावली तथा नीति निर्माणमा स्थानीय सरकारको अधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ।

 


प्रकाशित | १६ श्रावण २०८२, बिहीबार २०:४८