काठमाडौ, साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षायाममा डेंगी लगायतका रोगको जोखिम बढ्ने भएकाले सबै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। लामखुट्टेका कारण डेंगीसँगै जापानी इन्सेफलाइटिस, मलेरिया जस्ता संक्रामक रोगहरू सर्ने भएकाले यसको नियन्त्रणका लागि सबै लाग्नुपर्ने मन्त्रालयले जनाएको छ ।
डेंगी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टे सामान्यतः घर वरपर जमेको सफा पानीमा वृद्धि हुने गर्छ। त्यसैले घर, भवन र सार्वजनिक स्थल वरपरका फूलदानी, टायर, खुला ड्रम, बट्टा वा पानी जम्मिने स्थानहरूको पहिचान गरी प्रजननस्थल नष्ट गर्नु अत्यावश्यक भएको मन्त्रालयले स्पष्ट पारेको छ।
विशेषतः डेंगी संक्रमणको उच्च जोखिम हुने भएकाले हरेक हप्ता कम्तीमा एकपटक “१० मिनेट समय निकालौं, लामखुट्टे खोजौं, नष्ट गरौं” भन्ने नारासहितको अभियानमा सबै नागरिकलाई सहभागी हुन आग्रह गरिएको छ।
स्वास्थ्य सुरक्षित राख्नका लागि व्यक्तिगत सरसफाइ, सामुदायिक जागरुकता र स्थानीय तहसँगको सहकार्य अपरिहार्य रहेको मन्त्रालयको जोड छ।
प्रकाशित | १९ श्रावण २०८२, आईतवार १३:३७

