काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । श्रद्धा, भक्ति र धार्मिक अनुशासनका साथ देशभर विशेष रूपमा मनाइँदैछ। हिन्दू धर्ममा साउन महिनाका सोमबारहरू भगवान शिवको आराधना गर्ने सबैभन्दा शुभ दिन मानिन्छन्। आजको दिन शिवभक्तहरुमा भक्तजनको भिड लाग्ने गर्दछ । धार्मिक शास्त्रअनुसार सोमबार शिवको दिन हो । विशेषगरी पौराणिक मान्यताअनुसार देवी पार्वतीले निराहार व्रत गरेर यही साउन महिनामा भगवान शिवलाई प्रसन्न पारी स्वामीको रूपमा प्राप्त गरेकी थिइन्। त्यसैका आधारमा साउनको सोमबारहरूलाई कठोर व्रत, सात्विक जीवनशैली, भक्तिपूर्वक पूजा र ध्यानको अवसरका रूपमा लिने परम्परा रहँदै आएको छ।
महिलाहरू हरियो चुरा, पोते, मेहेन्दी र पहेंलो र रातो रंगका वस्त्रमा सजिएर शिव पूजामा सहभागी भएका छन्। कतिपयले व्रत बसेर दिनभर जल मात्र ग्रहण गरी पूजा गरेका छन् भने केहीले रुद्री पाठ गराएका छन्। जल, दुध, घ्यु, मह र अन्य पवित्र वस्तु चढाएर शिवको पुजा आरधना गर्ने गरिन्छ । ‘बोलबम’ यात्राको रौनक पनि देखिएको छ। भक्तजनहरू पवित्र नदी वा जलाशयमा स्नान गरी पहेँलो वस्त्रमा, खाली खुट्टा जलको गाग्री बोकी “बोलबम” र “बमबम भोले” भन्दै शिवालयसम्म यात्रा गरिरहेका छन्। सुन्दरीजलबाट पशुपतिनाथ मन्दिरसम्म, सप्तकोशी नदीको किनारबाट पिण्डेश्वर शिवालयसम्म जल चढाउने भक्तजनहरूको लहर उल्लेखनीय छ।
धर्मशास्त्रका अनुसार आजको सोमबारको व्रतले धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको मार्ग खुल्ने विश्वास गरिन्छ। ज्योतिषले हस्ता नक्षत्रयुक्त सोमबारमा शिवको विशेष कृपा प्राप्त हुने उल्लेख गर्छ। यस्ता दिनमा गरिने साधना र व्रतले मनोकांक्षा पूरा हुने र जीवनका बाधाअवरोधहरू हट्ने विश्वास गरिन्छ ।आजको दिनले भक्तिमा गहिरो आस्था, संस्कृतिमा गर्व र समाजमा अध्यात्मिक सन्देश फैलाएको छ। साउनको सोमबार शिव आराधनाको मात्रै होइन, धार्मिक–सांस्कृतिक चेतनाको पनि विशेष पर्व बनेर नेपाली समाजमा परम्पराको रुपमा स्थापित भएको छ।
प्रकाशित | २० श्रावण २०८२, सोमबार १०:१०

