१६ वर्षमुनिका १० हजार विद्यार्थीलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उतार्ने तयारी, तीन चरणमा हुने, भदौ २० बाट मंसिर ७ गतेसम्म चल्ने

काठमाडौं । शिक्षा, खेलकुद, सहभागिता र सिर्जनशीलतामा एउटा इतिहास रच्ने तयारी भईरहेको छ । देशभरका १६ वर्षमुनिका १० हजार विद्यार्थीहरुलाई सहभागिता गराएर राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी भईरहेको हो । नेपालय इन्टरनेशनल, नेपाल स्कूल स्पोट्र्स फेडेरेसन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ सञ्चालन गरिने भएको हो ।


प्रतियोगिता जिल्ला, प्रदेश र केन्द्रीय गरी तीन चरणमा सञ्चालन हुनेछ। भदौ २० गतेदेखि जिल्लास्तरको छनोट सुरु हुने र मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा ग्रान्ड फिनाले सम्पन्न हुने छ । ७७ जिल्लाका करिब ५ हजार विद्यालयका विद्यार्थी प्रतिस्पर्धामा सहभागी हुनेछन्। सामुदायिक, निजी, गुठी लगायत सबै प्रकारका विद्यालयका कक्षा ७ देखि १० मा अध्ययनरत १६ वर्षमुनिका विद्यार्थीलाई प्रतिस्पर्धामा सहभागी गराइनेछ ।

प्रतियोगिताले विद्यार्थीलाई प्रश्न–उत्तरको अभ्यास मात्र गराउने मात्र नभई तत्काल निर्णय लिन सक्ने क्षमता, समूहमा काम गर्ने बानी र राष्ट्रिय स्तरको अनुभव दिलाउने प्याब्सन केन्द्रिय कार्यसमितिका महासचिब आर.बी कनवालले जानकारी दिनु भयो । विद्यालयकै कक्षाबाट सुरु हुने यात्रा राजधानीमा पुगेपछि, धेरै विद्यार्थीको जीवनमा शैक्षिक र व्यावसायिक अवसरको ढोका खोल्ने विश्वास समेत गरिएको छ ।

विजेता टोलीलाई स्कुटर, उपविजेतालाई ल्यापटप, तेस्रो स्थानलाई मोबाइल फोन र चौथो स्थानलाई ट्याबलेटसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। फाइनलमा पुग्ने सबै टोलीलाई प्रमाणपत्र, सम्मानपत्र, ट्रफी र मेडल दिइनेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र अन्य शैक्षिक सुविधाहरू पनि प्रदान गरिनेछ ।
कार्यक्रमका केही चरणहरू टेलिभिजन र डिजिटल माध्यममार्फत प्रसारण गरिने भएकाले विद्यार्थीको प्रतिभा लाखौं दर्शकसम्म पुग्नेछ।

आयोजकले यसलाई दिगो र दोहोर्याउन सकिने मोडेलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रतियोगिता प्रतिस्पर्धा मात्र नभई हजारौं विद्यार्थीका लागि आत्मविश्वास र अवसरको नयाँ ढोका बन्ने देखिएको छ ।


प्रकाशित | २४ श्रावण २०८२, शुक्रबार १०:२८