काठमाडौं । बच्चा जन्मिनेबित्तिकै आउने बिगौती दुधमा भिटामीन ए हुने भएकाले बच्चाको लागि पहिलो खोपको रुपमा काम गर्ने चिकित्सकहरु बताउँछन् । बिगौती दुधमा प्रशस्त मात्रामा प्रोटिन तथा पोषक तत्वहरु हुने भएकाले बच्चामा रोगप्रतिरोधात्मक क्षमता बढाई बिरामी हुनबाट बचाउँछ ।
आमाको दुध पहिलो ६ महिनासम्म निरन्तर खुवाएइको खण्डमा भिटामीन ए को कमी हुन दिदैन । बिगौती दुधले बच्चालाई पहिलो दिसा समेत निकाल्न मद्त गर्छ । बिगौती दुध खुवाएको खण्डमा दिसाबाट बिलीरुबीन नामक तत्वलाई निष्कासन गर्न मद्त गर्छ । जसका कारण जन्डिसको जोखीम कम हुन्छ ।
स्तनपान जीवनको सुरुवातमै हुने सबैभन्दा महत्वपूर्ण अभ्यास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले जानकारी दिनु भयो ।
बच्चा जन्मनेबित्तिकै स्तनपान गराउन शुरु गर्नु अघि मह, घिउ चटाउनु नहुने चिकित्सकहरुको भनाई छ । पूरानो मान्यताका कारण बच्चालाई स्तनपान सुरु गर्नु अघि नै मह, घिउ लगायत चटाउने चलन हानिकारक रहेको छ ।
पूर्ण स्तनपान बच्चाको जीवनरक्षा, वृद्धि र विकास सुनिच्चित गर्ने सबैभन्दा प्रभावकारी उपाय रहेको विज्ञहरु बताउँछन् । बच्चा र आमाबिच स्नेह बढाउनुका साथै बच्चाको शारिरिक तथा मानसिक विकासका लागि स्तनपान महत्वपूर्ण मानिन्छ ।
प्रकाशित | २७ श्रावण २०८२, सोमबार ०९:३७

