धुलिखेल (काभ्रे), साउन २७ । धुलिखेल नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको विस्तारित सेवाकेन्द्रमार्फत धुलिखेल अस्पताल परिसरबाट सोमबारदेखि स्वास्थ्य बीमा सेवा औपचारिक रुपमा शुभारम्भ गरेको छ।

नगर प्रमुख अशोक कुमार ब्याञ्जुले बिरामीहरूलाई स्वास्थ्य सेवा टोकन तथा रेफरल पुर्जी हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।

उक्त अवसरमा नगर प्रमुख ब्याञ्जुले स्वास्थ्य बीमा कार्यक्रमले सबै नागरिकलाई सुलभ, गुणस्तरीय तथा सस्तो मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, धुलिखेल अस्पतालका प्रतिनिधिहरू तथा स्थानिय बासिन्दाहरूको उपस्थिति रहेको थियो। धुलिखेल नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई अझ प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यका साथ विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। यस कार्यक्रम अन्तर्गत सेवा लिने नागरिकहरूले बीमाको सहुलियतमा आवश्यक स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन्।

नगर प्रमुख ब्याञ्जुले स्थानीय तहबाट जनताको स्वास्थ्य सुनिश्चित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउँदै आगामी दिनमा अझ नयाँ सेवा तथा प्रविधि समावेश गरी सेवा विस्तार गरिने जानकारी दिनुभयो।

धुलिखेल नगरपालिकाको यो पहलले सम्पूर्ण नगरवासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवातर्फ सजग र सक्षम बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित | २७ श्रावण २०८२, सोमबार २१:४१

