काठमाडौंं: कागेश्वरी मनोहरा नगरपालिकामा सन्चालित डाँछी–भद्रवास बृहत्त खानेपानी आयोजनाको निर्माण ९० प्रतिशत पूरा भएको छ । सो खानेपानी आयोजनाबाट तीन हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । एसीयाली विकास बैंकले करिब ७० प्रतिशत अनुदान उपलब्ध गराएको र बाँकी रकम नगरपालिका तथा उपभोक्ता समितिबाट जुटाइने व्यवस्था मिलाइएको छ ।
६० करोड लागतको डाँछी–भद्रवास बृहत्त खानेपानी आयोजनाबाट दशैं अगाडि नै नगरबासीलाई खानेपानी वितरण गरिने कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिनु भयो ।
नगरपालिकामा करिब २ अर्ब लगानीका तीन ओटा खानेपानी आयोजना सन्चालनमा रहेका छन् । डाँछी–भद्रवास बृहत्त खानेपानी आयोजना, भैमाल खानेपानी आयोजना तथा काँडाघारी खानेपानी आयोजनाको निर्माणलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको छ ।
काँडाघारी खानेपानी आयोजना पनि लामो समयदेखि अल्झिएको तथा अलमलिएको थियो । अघिल्लो नेतृत्वले सुरु गरेको सो आयोजनामा विभिन्न प्राविधिक जटिलता रहेको थियो । सो खानेपानी आयोजनालाई सुधार्दै अहिलेको नेतृत्वले काँडाघारी खानेपानी आयोजनाको चारवटा ब्लकबाट पानी वितरण सुरु भईसकेको छ । बाँकी ब्लकबाट पनि केही महिनाभित्रै पानी वितरण गरेर आयोजनालाई पूर्ण बनाउने तयारी रहेको नगरप्रमुख कार्कीको भनाई छ ।
खानेपानी आयोजना सन्चालन गर्नु निकै नै जटिल हुने बताईन्छ । प्राविधिक पक्ष जटिल बन्दा यस्ता आयोजना सन्चालन गर्नु निकै नै चुनौतीपूर्ण हुन्छ । ट्याङ्की निर्माण लगायतका ठूलो लागतको काम आयोजना अन्तर्गत पर्छन् । अर्कोतर्फ व्यवस्थित तरिकाबाट ठेक्का नलाग्दा पनि समस्या भोग्नु परेको उहाँको अनुभव छ ।
सबैभन्दा ठूलो ८४ करोडको गोठाटार भैमाल खानेपानी आयोजनाको पहिलो ठेक्का अन्तर्गत ट्यांकी निर्माणको काम सकिएको छ । यस्तै सो खानेपानी आयोजनाको बोरिङ्ग गर्ने लगायतका काम पनि सकिएको छ । पाईपलाईनको काम भने बाँकी रहेको छ । दोस्रो ठेक्का पनि सम्झौता भईसकेको छ ।
सो अन्तर्गत पनि चाडै काम अघि बढ्ने बताईएको छ । सो बाहेक पनि प्रदेश सरकारको सहयोगमा अर्को खानेपानी आयोजना सन्चालन गर्ने तयारी नगरपालिकाको रहेको छ । आफ्नो कार्यकालभित्रै सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य रहेको नगरप्रमुख कार्कीले प्रतिबद्धता जनाउनु भएको छ ।
नगरपालिकाले सन्चालन गरेका खानेपानी आयोजनाहरुले दीर्घकालीन रूपमा नगरवासीलाई नियमित र गुणस्तरीय पानी उपलब्ध गराउने आधार तयार गर्ने बताईन्छ । यी आयोजनाहरूले नगरको पानी आपूर्ति प्रणालीलाई संरचनागत रूपमा सबल पार्ने मात्र होइन, जनसंख्या वृद्धिको दबाब सामना गर्न पनि मद्दत पु¥याउने विश्वास लिइएको छ ।
नगरबासीहरु अझै पनि पूर्ण सुरक्षित र नियमित पानी सेवा पाउन संघर्ष गरिरहेको अवस्थामा ठूला खानेपानी आयोजनाको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै पूर्णता बन्ने तरखरमा रहेको छ ।
२०७८ सालको जनगणना अनुसार नगरको जनसंख्या करिब १ लाख ३० हजार ४ सय ३३ र घरधुरी ३३ हजार ७ सय ६४ छ । अधिकांश बस्तीमा खानेपानीको मुख्य स्रोत सार्वजनिक नल, प्राकृतिक मुहान, कुञ्ज र घरायसी बोरिङ रहेका छन्। यद्यपि, सबै बासिन्दाले समान गुणस्तरीय सेवा पाएका छैनन् ।
हाल नगरमा करिब १४ वटा खानेपानी उपभोक्ता समितिहरू सक्रिय छन्, जसले स्थानीय स्रोतबाट पानी आपूर्ति गरिरहेका छन्। तर, सबै क्षेत्रमा केन्द्रीकृत वितरण प्रणालीको पहुँच छैन । गर्मी याममा स्रोत सुक्ने र वर्षायाममा बाढी–पहिरोका कारण संरचना क्षतिग्रस्त हुने समस्या यथावत छन्। जनसंख्या वृद्धिले माग बढाउँदै लगेको छ ।
नगरपालिकाले एकीकृत खानेपानी योजना तयार गर्दै सबै वडामा समान र नियमित आपूर्ति सुनिश्चित गर्ने, जलस्रोत संरक्षणका लागि वृक्षारोपण र प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्ने, सबै ट्यांकी र धारामा नियमित पानी परीक्षण अनिवार्य गर्ने तथा विकास साझेदारसँग सहकार्यमा दिगो वित्तीय स्रोत जुटाउने कार्य अघि बढाएको छ। स्थानीयवासीले खानेपानी व्यवस्थापनमा नगरपालिकाले गरेको सुधारात्मक कदमलाई स्थानीय बासिन्दाले स्वागत गरेका छन् ।
प्रकाशित | २८ श्रावण २०८२, मंगलवार २०:०८

