नेपालमा एक दशकमा ६ जनाको मस्तिष्क मृत्यु पश्चात अंगदान, जनचेतना अभावले हजारौं जीवनदान पाउनबाट वञ्चित

काठमाडौंँ । नेपालमा मस्तिष्क मृत्यु पश्चात हुने अंगदानको संख्या अत्यन्तै न्यून रहेको छ । एक दशकमा देशभर मस्तिष्क मृत्यु भएका हजारौंमध्ये जम्मा ६ जनाले मात्र अंगदान गरेका छन् ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष करिब एक हजारको हाराहारीमा मस्तिष्क मृत्यु हुन्छ । यी सबैको अंगदान हुन सके वार्षिक झण्डै ८ हजार अंग प्रत्यारोपणको सम्भावना रहन्छ । तर २०७२ सालयता मस्तिष्क मृत्यु पश्चात ६ जनाको अंगदानबाट मात्र १५ जनाले जीवन पाएका छन् ।

पश्चिमी मुलुकमा मस्तिष्क मृत्यु पश्चात प्राप्त अंगबाट ७० प्रतिशतभन्दा बढी प्रत्यारोपण हुने गरेकामा नेपालमा यो दर अत्यन्तै कम छ । डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएपछि खेर जाने अंग दान गर्न सके मिर्गौला दुई जनालाई, मुटु एक जनालाई, सानो आन्द्रा एक जनालाई, फोक्सो दुई जनालाई, कलेजो एक जनालाई र प्याङ्क्रियाज एक जनालाई प्रत्यारोपण गर्न सकिन्छ । जसबाट एकैपटक आठ जनाले जीवन पाउन सक्छन् ।

नेपालमा प्रत्येक १० जनामध्ये एक जनालाई मिर्गौला रोगको समस्या देखिने गरेको छ । हरेक वर्ष करिब ३,००० जनाको मिर्गौला फेल हुने गरेकामा अंग नपाएर अकालमा ज्यान गुमाउनेको संख्या उच्च छ ।

अंगदान दुई तरिकाबाट गर्न सकिन्छ । जीवित व्यक्तिबाट वा मस्तिष्क मृत्यु पश्चात । नेपालजस्तो विकासोन्मुख मुलुकमा जीवित व्यक्तिबाट हुने प्रत्यारोपण खर्चिलो भए पनि निरन्तर भइरहेको छ । तर, मस्तिष्क मृत्यु पश्चात हुने अंगदान भने जनचेतनाको कमीका कारण अत्यन्तै न्यून छ ।

यसैबीच, मस्तिष्क मृत्यु पश्चात हुने अंगदानबारे जनचेतना फैलाउने उद्देश्यले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार अंगदान दिवस मनाउँदैछ ।


प्रकाशित | २९ श्रावण २०८२, बुधबार ०९:४५