शिक्षा विधेयकको प्रावधानविरुद्ध निजी विद्यालय संगठन प्याब्सन–एनप्याब्सनले भोलीबाट आन्दोलन सुरु गर्ने

काठमाडौं । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले भोली बिहीबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने भएका छन्।

प्याब्सनका महासचिव आरबी कटवालका अनुसार विधेयकमा रहेको क्रमशः गैरनाफामूलक बनाईनेछ भन्ने प्रावधान, १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था, साथै किताब, पोशाक, खाना, यातायात र होस्टलको अनिवार्य व्यवस्थाजस्ता प्रावधानहरू कार्यान्वयन अयोग्य भएको भन्दै प्याब्सन तथा एनप्याब्सन आन्दोलनमा उत्रिएका हुन् । हाल निजी विद्यालयहरूले १० प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएका छन् ।

आन्दोलनको पहिलो चरणअन्तर्गत भोली बिहान ११ बजे देशभरका स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा समितिका पदाधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाइनेछ । त्यसपछि साउन ३० गते जिल्लास्तरमा, भदौ १ गते सबै प्रदेश सरकारलाई र भदौ २ गते सांसदहरूलाई ज्ञापनपत्र बुझाउने लगायत कार्यक्रम तय गरिएको छ ।

प्याब्सन र एनप्याब्सनले पहिलो चरणको आन्दोलनपछि पनि माग बेवास्ता भए दोस्रो चरणको कठोर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।


प्रकाशित | २९ श्रावण २०८२, बुधबार १३:१९