धुलिखेल, काभ्रे । धुलिखेलमा करिब एक हजार रोपनी क्षेत्रफलमा एक सय उद्योग सञ्चालन गर्ने तयारी भइरहेको छ। यसका लागि चीनका लगानीकर्ता सहभागी हुने भएका छन्। उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि चीनका LINYI CITY QIDONG INTEMATION TRADE का अध्यक्ष झेङ्बो काओको नेतृत्वमा आएको चिनियाँ व्यवसायी टोलीले धुलिखेलमा स्थलगत निरीक्षण गरिएको छ ।

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको पहल र पूर्व शहरी विकास मन्त्री राजेन्द्र श्रेष्ठको उपस्थितिमा भएको भ्रमणमा टोलीले उद्योग स्थापनाका लागि आवश्यक भौगोलिक अवस्था, पूर्वाधार, यातायात पहुँच तथा लगानी वातावरणको मूल्याङ्कन गरेको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो ।
प्रमुख ब्याञ्जुका अनुसार उद्योग स्थापनामा सहभागी हुन इच्छुक चिनियाँ लगानीकर्ताले कृषि, प्रशोधन, निर्माण, पर्यटन तथा पूर्वाधार विकाससँग सम्बन्धित परियोजनामा लगानी गर्ने प्रारम्भिक योजना प्रस्तुत गरेका छन्। परियोजना कार्यान्वयन भएमा धुलिखेल क्षेत्रमा हजारौं स्थानीयलाई रोजगारी सिर्जना हुने, औद्योगिक पूर्वाधारको स्तर अभिवृद्धि हुने र काभ्रे जिल्लाको समग्र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय सरकारले यस परियोजनाका लागि आवश्यक प्रशासनिक सहयोग, भूमि व्यवस्थापन र पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ भने संघीय सरकारले वैदेशिक लगानी सहज बनाउन नीतिगत र कानुनी प्रक्रियामा सहजीकरण गर्ने तयारी गरेको छ।

अन्तर्राष्ट्रियस्तरको यो लगानी परियोजनाले धुलिखेललाई औद्योगिक तथा व्यावसायिक केन्द्रको रूपमा स्थापित गर्ने प्रमुख ब्याञ्जुले बताउनुभयो ।
प्रकाशित | २९ श्रावण २०८२, बुधबार १९:१३

