काठमाडौं । नेपालमा पछिल्ला आठ महिनामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ३ जना संक्रमितको निधन भएको छ, जसमा कोरोना सङ्गै अन्य स्वास्थ्य जटिलता पनि रहेको जनाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा मात्र ८ जना नयाँ संक्रमित फेला परेका छन्।
महाशाखाका निर्देशक डा. चन्द्र झाका अनुसार हालसम्म भेटिएका संक्रमितहरूमा गम्भीर जटिलता देखिएको छैन। तथापि, जेष्ठ नागरिक र दीर्घरोगीहरूका लागि संक्रमणको जोखिम कायम रहेको भन्दै उहाँले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । “संक्रमण नियन्त्रणमा भए पनि जोखिम पूर्ण रूपमा समाप्त भएको छैन। हामी आवश्यक निगरानी र तयारी अवस्थामा छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
डा. झाका अनुसार भीडभाड हुने स्थानमा अनिवार्य रूपमा मास्क लगाउने, हात सफा राख्ने र स्वास्थ्य मापदण्ड पालना गर्नेबाहेक व्यक्तिगत सतर्कता नै प्रमुख उपाय हो। चिकित्सकहरूले पनि कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण गरिराख्न र सावधानीपूर्वक दिनचर्या अपनाउन आग्रह गरेका छन् ।
प्रकाशित | ३० श्रावण २०८२, बिहीबार १०:५६

