पर्यटन प्रवद्र्धनका अनेक प्रयास, प्रतिफल भने अपेक्षाकृत कमजोर

काठमाडौं । नेपाल सरकारले पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । ‘नेपाल भ्रमण दशक’, ‘विशेष पर्यटन वर्ष’ लगायतका अभियानमार्फत विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको भए पनि सोअनुसारको नतिजा भने हासिल हुन सकेको छैन ।

पर्यटन विभागका अनुसार नेपालमा विदेशी पर्यटकको आगमन क्रमशः बढ्दै जाँदैछ, तर अझै उत्साहजनक स्तरमा पुग्न सकेको छैन । आर्थिक वर्ष २०८०र८१ मा ११ लाख १७ हजार पर्यटक नेपाल आएका थिए भने आर्थिक वर्ष २०८१र८२ मा यो संख्या ११ लाख २८ हजारमा पुगेको छ । यसरी एक वर्षमा ११ हजार मात्र थपिनु, अपेक्षाअनुसारको वृद्धिदर नभएको सरोकारवालाहरूको धारणा छ ।

पर्यटकको औसत बसाइ अवधि पनि स्थिर नै छ । अघिल्लो आर्थिक वर्षमा १३।२ दिनको बसाइ अवधि रहेकोमा गत वर्ष १३।३ दिनमा मात्र पुगेको छ । यस्तै, पर्यटक खर्चको अवस्था भने अलि घटेको देखिन्छ । अघिल्लो वर्षको ४१ अमेरिकी डलरको तुलनामा गत वर्ष यो ४०।८ डलरमा झरेको विभागीय तथ्यांकले जनाउँछ ।

नेपालको पर्यटन क्षेत्रले वर्षौंदेखि विदेशी मुद्रा आर्जन र राष्ट्रिय आम्दानीमा महत्वपूर्ण योगदान दिँदै आएको छ । हिमाल, सांस्कृतिक सम्पदा, जैविक विविधता र साहसिक गतिविधिहरूका कारण नेपाललाई विश्वकै आकर्षक गन्तव्य मानिन्छ । तर, यति ठूलो सम्भावना हुँदाहुँदै पनि दिगो पर्यटन विकासका लागि आवश्यक पूर्वाधार विस्तार, बजार व्यवस्थापन, नीति–निर्माणमा एकरूपता र सेवा गुणस्तरमा सुधारका चुनौती अझै कायमै छन् ।

विशेषज्ञहरूका अनुसार नेपालको पर्यटन बजारलाई बलियो बनाउन लामो अवधिको स्पष्ट रणनीति, अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा निरन्तरता, मौसमअनुसारको मात्र नभई वर्षभर आकर्षण हुने प्याकेज विकास, र स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने मोडल आवश्यक छ । अन्यथा, योजनाहरू कागजमै सीमित भई प्रतिफल न्यून हुने अवस्थाबाट क्षेत्र मुक्त हुन सक्दैन ।


प्रकाशित | ३१ श्रावण २०८२, शुक्रबार १७:२२