देशभर ७४ जिल्ला डेंगु प्रभावित, आठ महिनामा तीन हजारभन्दा बढी संक्रमित

काठमाडौं । पछिल्लो आठ महिनामा देशभर ७४ जिल्ला डेंगु प्रभावित बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार सो अवधिमा तीन हजारभन्दा बढी संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ३०३ जना संक्रमित फेला परेका छन् । कोशीमा ४७, मधेशमा १८, गण्डकीमा २८, लुम्बिनीमा २२, कर्णालीमा ६ र सुदूरपश्चिममा २४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

बर्सेनि मनसुनी मौसममा डेंगुको प्रकोप बढ्ने गरेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । विशेषगरी ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति र गर्भवती महिलामा यस रोगको जोखिम बढी हुने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव छ ।

डेँगु नियन्त्रणका लागि घर वरिपरि पानी जम्न नदिनु, सफाइमा ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।


प्रकाशित | १ भाद्र २०८२, आईतवार ०७:१४