काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नेपाली युवक विपिन जोशीका परिवारजनले मद्धतका लागि अपिल गरेको छ । कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलको तेल अभिभको बन्धक स्क्वायरमा पुगेर पुगेर दशौं हजार मानिसहरूमाझ उपस्थित हुँदा वातावरण भावुक बनेको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रमका लागि इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् । सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए । युद्धविरामको क्रममा कतिपयलाई हमासले मुक्त गरे पनि विपिन मुक्त भएका छैनन् । नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल बढाए पनि विपिनको अवस्था अझै अज्ञात छ ।
दशौं हजार मानिसहरूमाझ उपस्थित भएर पुष्पाले अंग्रेजी र नेपाली दुवै भाषामा मन्तव्य दिँदै सहानुभूति र एकताको सन्देश फैलाएकी थिईन् । भावुक हुँदै उनले भनिन्, “धेरै मिस गरिरहेकी छु,”
आमासहित उपस्थित पुष्पाले सबै बन्धकहरूलाई सुरक्षित घर फर्काउनुपर्ने आवश्यकता जोड दिएकी थिईन् । सो अवसरमा सहभागी नेपालीसहितका उपस्थितहरूले बिपिनसहित सबै बन्धकहरू चाँडै मुक्त गराउन आवाज उठाएका थिए ।
प्रकाशित | १ भाद्र २०८२, आईतवार १४:५६

