परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल : जीर्ण भवन र दक्ष जनशक्ति अभावका बिच गुणस्तरीय सेवा

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, नेपालकै सबैभन्दा बढी डेलिभरी हुने अस्पताल हो । यहाँ वार्षिक झण्डै २२ हजार बच्चा जन्मन्छन् । अघिल्लो वर्ष २२ हजार २६० डेलिभरी भएकोमा गत वर्ष २० हजार ९ सय डेलिभरी भएको अस्पताल प्रशासनले जनाएको छ । दैनिक ५० देखि ६५ सम्म बच्चा जन्मिने गरेको अस्पतालले गुणस्तरीय सेवा दिने प्रयास गरिरहेको छ । यद्यपि जीर्ण भवन र दक्ष जनशक्ति अभावले चुनौती थपिएको छ ।

नेपाल सरकारले लागू गरेको स्वास्थ्य सेवा नीति अनुसार, सामान्य डेलिभरी, सिजेरियन अपरेसन, आमा र शिशुका लागि एनआईसीयू सेवा सबै निःशुल्क छन्। साथै पाठेघर वा आङ्ग खस्ने, सुरक्षित गर्भपतन, परिवार नियोजन लगायतका सेवा पनि निःशुल्क गरिएको छ । पछिल्लो समय पिसाब चुहिने समस्याको उपचार समेत निःशुल्क गरिँदै आएको छ । जटिल अवस्थाका केही उपचारहरूमा मात्र शुल्क लाग्ने व्यवस्था छ ।

हाल अस्पतालको सबैभन्दा ठूलो समस्या पुरानो र जीर्ण संरचना हो । जीर्ण भवनका कारण सुरक्षित र प्रभावकारी सेवा दिन कठिन भइरहेको अस्पतालका निर्देशक श्री प्रसाद अधिकारीले बताउनु भयो । उहाँले सरकारसँग अस्पताललाई प्राथमिकतामा राखेर नयाँ भवन निर्माणको माग गर्नुभएको छ ।

साथै दक्ष जनशक्ति विशेषगरी चिकित्सक र नर्सहरूको अभावले पनि सेवा प्रवाहमा असर परिरहेको छ । अघिल्लो वर्ष मात्रै ९० जना नर्स र २० जना चिकित्सकले अस्पताल छाडेका थिए । दक्षता बढेपछि वैदेशिक रोजगारीतर्फ आकर्षण बढ्ने हुँदा अस्पतालमा लामो समय टिक्न सकिरहेका छैनन् । अधिकांश कर्मचारी करारमा भएकाले स्थायित्वको कमी देखिएको छ ।

निर्देशक अधिकारीले करारका कर्मचारीलाई स्थायी बनाउने नीति ल्याए वैदेशिक पलायन कम भई सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ। कर्मचारी थप्ने प्रक्रिया हाल अगाडि बढिरहेको छ। यी सबै चुनौतीबीच पनि अस्पतालले नागरिकलाई सुलभ र गुणस्तरीय सेवा दिन निरन्तर प्रयास गरिरहेको छ । सरकारको समयमै ध्यान गएमा अस्पताल अझ प्रभावकारी बन्ने आशा गरिएको छ ।


प्रकाशित | ३ भाद्र २०८२, मंगलवार १०:२४