दक्षिण–पूर्वी एसियामा रूबेला निवारण गर्ने नेपाल छैटौँ राष्ट्र, डब्लुएचओले गर्यो प्रमाणीकरण, दिगोपनको चुनौती भने कायमै

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भएको घोषणा गरेको छ । नेपालले हासिल गरेको सो उपलब्धि खोपबाट बचाउन सकिने रोगहरू विरुद्ध दिइने खोप सेवामा गरिएको निरन्तर एवं दृढ प्रयासबाट सम्भव भएको हो ।

दादुरा जस्तै देखिने रुबेला अर्थात जर्मन दादुरा, भाइरसको संक्रमणबाट हुने अति सङ्क्रामक रोग हो। यो रोगले विशेषगरी गर्भवती महिलाहरूमा जटिलता निम्त्याउँछ, जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरु देखिन सक्छन्। तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ।

सो ऐतिहासिक उपलब्धि रहेको स्वास्थ्यमन्त्री प्रदिप पौडेलले बताउनु भएको छ । उहाँले सामाजिक सन्जालमा लेख्नु भएको छ, “सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रबालयका प्रवत्ता डा.प्रकाश बुढाथोकीले सबैको प्रयासबाट रुबेला उन्मुलन गर्न सफल भएको बताउनु भयो । तथापी यसलाई दिगो बनाउन अझै निरन्तर लाग्नु पर्नेमा उहाँको जोड छ । सबैको प्रयासले यसलाई दिगोपन बनाउन सकिने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने नेपाल छैटौँ राष्ट्र बनेको छ । सन् २०२६ भित्र दादुरा र रूबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पु¥याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भूटान, उत्तर कोरिया, माल्दिभ्स र टिमोर–लेस्टेले दादुरा निवारण गरी सकेका छन् भने भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे र अब नेपालले पनि रूबेला निवारणमा सफलता प्राप्त गरेका छन् ।

नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । सन् २०१६ मा रूबेला खोपको दोश्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरियो । सन् २०२४ सम्ममा नेपालले रूबेला खोपको पहिलो मात्रा ९५% भन्दा बढी बालबालिकामा पु¥याउन सफल भएको थियो ।

हरेक वर्ष बैशाख महिनालाई खोप महिनाको रुपमा मनाएर, नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि खोज र खोप अभियान सञ्चालन गरी स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई नै ‘पूर्ण खोपयुक्त’ घोषणा गर्ने जस्ता नविनतम एवं सृजनात्मक प्रयासहरुले खोपबाट बचाउन सकिने रोग निवारणको लक्ष्यमा पुग्न थप गति प्रदान गरेको विज्ञहरुले बताएका छन् ।


प्रकाशित | ३ भाद्र २०८२, मंगलवार १७:३०