काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै लामो समयदेखि आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूको आन्दोलन अझ व्यापक बन्दै गएको छ । यसअघि मात्रै आन्दोलनमा सहभागी रहेका प्याब्सन र एनप्याब्सनको साथमा अब हिसान र अपेन पनि खुलेरै उत्रिएका छन् । चारवटै संस्था मिलेर आजदेखि संयुक्त रूपमा आन्दोलनको कार्यक्रम अघि बढाएका छन् ।
सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा विधेयकले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउने, र सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न लागेको छ। यिनै प्रावधानप्रति विद्यालय सञ्चालकहरू असन्तुष्ट छन । ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द नै अन्योलपूर्ण र व्यवहारमा कठिन रहेको उनिहरुको भनाई छ । त्यसैगरी, पोसाक, स्टेशनरी, शैक्षिक सामग्री र खाजा पनि छात्रवृत्तिको दायरामा पार्नु अन्यायपूर्ण भएको प्याब्सनका केन्द्रिय महासचिव आरबी कटवालले बताउनु भयो ।
यसबाहेक, कम्पनी ऐनअनुसार दर्ता भएर सञ्चालनमा रहेका विद्यालयलाई गैरनाफामूलक बनाउँदै लैजाने प्रावधान पनि उनीहरूको आपत्तिको मुख्य कारण बनेको छ । विधेयकमा छात्रवृत्तिसम्बन्धी अधिकार स्थानीय तहमा राखिएको छ भने विद्यार्थी छनोटका लागि प्रतिस्पर्धा गराउनुपर्ने व्यवस्था पनि छ । छात्रवृत्तिसम्बन्धी व्यवस्था विद्यालयले नै पारदर्शी रूपमा गर्न सक्ने तर विद्यालय सञ्चालकहरूको धारणा छ ।
विधेयकमा रहेका यिनै व्यवस्थाको विरोधमा निजी विद्यालय संघहरूले माइतीघर मण्डला, बानेश्वर, चक्रपथ लगायतका स्थानमा विरोध प्रदर्शन गर्ने, र आवश्यक परे संसद् भवन घेराउसम्म गर्ने चेतावनी दिएका छन्। सरकारले आफ्ना मागलाई बेवास्ता गरेमा भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने तयारीमा रहेको उनीहरूको भनाइ छ ।
प्रकाशित | ५ भाद्र २०८२, बिहीबार १२:०६

