काठमाडौं । ब्रेन स्ट्रोकको संख्या नेपालमा दिनप्रतिदिन बढ्दो अवस्थामा छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, विश्वभर हरेक वर्ष झण्डै १ करोड ५० लाख मानिस ब्रेन स्ट्रोकबाट प्रभावित हुने गरेका छन् । जसमध्ये करिब ५० लाखको मृत्यु हुने गर्दछ। विश्वव्यापी रुपमा मृत्युको दोस्रो प्रमुख कारणका रूपमा रहेको ब्रेन स्ट्रोक अब नेपालमा पनि गम्भीर चिन्ताको विषय बन्न थालेको छ।
पछिल्लो समय नेपालमा मृत्यु हुने प्रमुख कारणमध्ये ब्रेन स्ट्रोक पाँचौं स्थानमा रहेको वीर अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा. राजीव झाले जानकारी दिनु भयो । उहाँले वीर अस्पतालमा मष्तिस्क सम्बन्धि उपचारका लागि आउने बिरामीमध्ये करिब ८० प्रतिशत बिरामी ब्रेन स्ट्रोकका हुने गरेको उल्लेख गर्नुभयो ।
उच्च रक्तचाप, कोलेस्टेरोलको मात्रा बढ्नु, मधुमेह, मुटु सम्बन्धी समस्या, मोटोपन, धूम्रपान, अत्यधिक मदिरा सेवन र शारीरिक निष्क्रियता स्ट्रोकको मुख्य जोखिम कारक हुन्। उमेर बढ्दै जाँदा स्ट्रोकको जोखिम पनि सोहीअनुसार वृद्धि हुने विज्ञहरु बताउँछन् ।
त्यस्तै, कतिपय अवस्थामा कुनै दीर्घरोग नभए पनि हात झमझमाउने, अनुहारको एक भाग लत्रिने, बोल्न गाह्रो हुने जस्ता लक्षण देखा परेमा त्यसलाई वेवास्ता गर्नु हुँदैन भन्ने चिकित्सकहरूको चेतावनी छ।
प्रा. डा. झाले समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै स्वस्थ जीवनशैली अपनाउने, नियमित व्यायाम गर्ने, तनाव घटाउने, धूम्रपान र मद्यपान त्याग्न सुझाव दिनुभएको छ। समयमै सजगता अपनाएमा ब्रेन स्ट्रोकको जोखिम घटाउन सकिने विज्ञहरूको भनाइ छ।
प्रकाशित | ५ भाद्र २०८२, बिहीबार १३:५८

