मोरङ । सुनवर्षी नगरपालिका–३ को खयर टोल र वडा नं. ६ को वावानाडोमा निर्माण सम्पन्न दुई महत्वपूर्ण भुमिगत सिंचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज (बिहीबार) औपचारिक कार्यक्रम गरि दुबै भुमिगत सिंचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । सिंचाइ पहुँच विस्तारका लागि स्थानीय सरकारको प्राथमिकतामा परेका सो आयोजना सम्पन्न भएसँगै स्थानीय कृषकको जीवनस्तरमा ठुलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।
सो आयोजना सञ्चालनमा आएपछि करिब १२० विघा जमिनमा वर्षभरि नियमित सिंचाइ सुविधा उपलब्ध हुनेछ भने वर्षायाममा करिब १६० विघा जमिनमा पानी पु¥याउने क्षमता रहेको छ। किसानलाई थप राहत दिने उद्देश्यले सिंचाइ मिटरको सम्पूर्ण बिल नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ। सो कदमले कृषकको उत्पादन लागत घटाउने मात्र नभई वर्षैभरि खेती गर्न सहज वातावरण सिर्जना गर्ने सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विश्वास व्यक्त गर्नु भयो ।
स्थानीय सरकारको सक्रियता र कृषकहरूको सहकार्यमा सम्पन्न सो परियोजना सुनवर्षि नगरपालिकाको कृषि क्षेत्र सुदृढ बनाउने महत्वपूर्ण आधार बन्ने विश्वास लिइएको छ ।
नगरपालिकाका जनप्रतिनिधि र प्राविधिक टोलीले सो परियोजनालाई गाउँ–गाउँसम्मको कृषि क्रान्तिको नयाँ अध्यायको रूपमा हेरेका छन्। नियमित सिंचाइ प्रणालीले उत्पादन वृद्धिमा ठूलो फड्को मार्ने सम्भावना बढेको छ ।
प्रकाशित | १२ भाद्र २०८२, बिहीबार २०:०१

