निजी विद्यालय संगठनले देशभर एकसाथ बृहत् विरोध सभा गर्ने

काठमाडौं । संघीय शिक्षा ऐन २०८० को मस्यौदाविरुद्ध निजी विद्यालय संगठनहरुको आज बिहान ११ बजे देशभर एकसाथ बृहत् विरोध सभा आयोजना गर्ने भएको छ । प्रस्तावित ऐनले निजी क्षेत्रको अधिकार र स्वायत्तता कुण्ठित गरेको भन्दै निजी विद्यालय संगठनहरुले तीन सातायता आन्दोलनका चरणबद्ध कार्यक्रम गरिरहेका हुन् । पछिल्लो समय उनिहरुले आन्दोलनलाई अझ शशक्त बनाईरहेका छन् ।

आज देशभर एकसाथ हुने बृहत् विरोध सभामा सबै विद्यालय, शिक्षक, सञ्चालक, अभिभावक र सरोकारवालाहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ । प्याब्सन, एनप्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् । कम्पनी ऐन अनुसार दर्ता भई सन्चालनमा रहेका विद्यालयहरुलाई गैरनाफामूलक बनाउने प्रावधान पूर्ण रुपमा हटाउनु पर्ने, पूर्ण छात्रवृत्ती भन्ने शब्दावली हटाउनु पर्ने, विद्यालयमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामाग्री, यातायात, खाना, खाजा, लगायतका सेवा सुविधामाथि गरिएको अनावश्यक प्रतिबन्ध हटाउनु पर्ने उनिहरुको माग रहेको छ ।

यस्तै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरि लक्षित वर्गलाई वितरण गर्न सकिने व्यवस्था मिलाउनु पर्ने लगायतका मागहरु रहेका छन् । आन्दोलनलाई थप प्रभावकारी बनाउन भोलीबाट (भदौ १९ देखि २५ गतेसम्म) विभिन्न चरणका दबाबमूलक कार्यक्रम पनि घोषणा गरेको छ । अन्तरक्रिया, राजनीतिक दलहरूसँगको भेटघाट लगायतका कार्यक्रम तय गरिएको छ ।

निजी विद्यालय संगठनहरुले सबै तहका विद्यालयलाई आन्दोलनमा सक्रिय सहभागी बन्न आह्वान गरेका छन् ।


प्रकाशित | १८ भाद्र २०८२, बुधबार ०९:४१