मोरङ । सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको ब्राईट फ्युचर सेकेण्डरी स्कुलमा ’बुक फ्रि डे’ प्रभावकारी बन्दै गएको छ । विद्यालयले यहि शैक्षिक सत्रबाट ’बुक फ्रि डे’ शुरु गरेको हो । नियमित पाठ्यपुस्तकको भर नपरी विद्यार्थीलाई व्यवहारिक र सिर्जनात्मक सिकाइतर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुरु गरिएको सो कार्यक्रम करिब पाँच महिनाको छोटो अवधिमा नै अत्यन्तै प्रभावकारी देखिएको छ । विद्यालयले यस शैक्षिक सत्रदेखि प्रत्येक शुक्रबारलाई ‘बुक फ्रि डे’ घोषणा गर्दै विद्यार्थीलाई पुस्तकबिना विद्यालय पठाउने अभ्यास सुरु गरेको हो।


यस दिन उनीहरूलाई स्काउट, नाटक, संगीत, चित्रकला, रोबोटिक्स, परम्परागत तथा सांस्कृतिक सीपसँग सम्बन्धित विभिन्न गतिविधिमा संलग्न गराइन्छ । यस्ता क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास, सहकार्य, सृजनशीलता र जीवन उपयोगी सीपहरूको विकासमा उल्लेखनीय टेवा पु¥याइरहेको विद्यालयका प्रिन्सीपल टिकाराम ढकालले बताउनु भयो ।

झन्डै १५०० विद्यार्थी अध्ययनरत ब्राईट फ्युचर स्कुलले कक्षा ८ देखि माथिका विद्यार्थीका लागि सीपमूलक शिक्षालाई विशेष प्राथमिकता दिएको छ । यस्तै साना बालबालिकालाई संस्कारसहितको प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आइरहेको छ ।

विद्यालयले अहिले आईटी कक्षा पनि सञ्चालनमा ल्याएको छ । जसले गर्दा विद्यार्थीलाई डिजिटल दक्षता हासिल गराउँदै भविष्यमा रोजगारीका सम्भावनासमेत खोल्ने अपेक्षा गरिएको छ । विद्यालयले विद्यार्थीहरुलाई सीप सीकाउँदै रोजगारका ढोकाहरु पनि खोलिरहेको छ ।

मोरङ मात्र नभई सुनसरी, संखुवासभा, ताप्लेजुङ, धनकुटा र भोजपुर जस्ता जिल्लाबाट समेत विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ । यसले विद्यालयलाई क्षेत्रीय शैक्षिक केन्द्रको रूपमा उभ्याउने सम्भावना प्रवल बनाएको छ । अभिभावकहरूको विश्वास जित्दै गएको सो विद्यालयले निरन्तर नवीन शैक्षिक कार्यक्रम थप्ने नीति अपनाएको छ ।

प्रकाशित | १९ भाद्र २०८२, बिहीबार १०:३६

