काठमाडौं (शंङ्खरापुर) – शंङ्खरापुर नगरपालिकाले पछिल्ला दुई आर्थिक वर्षमा संस्थागत सुधार र वित्तीय सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै उदाहरणीय सफलता हात पारेको छ। नगर प्रमुख रमेश नापितको नेतृत्वमा र प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको कुशल व्यवस्थापनमा नगरपालिका द्रुत गतिमा समृद्धिको दिशामा अघि बढेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा शंङ्खरापुर नगरपालिकाले ८१.७५ अंक प्राप्त गर्दै हालसम्मकै उच्चतम अंक ल्याएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६५.७५ अंक प्राप्त गरेको यस नगरपालिकाले यसपटक १६ अंकको उल्लेखनीय सुधार गर्न सफल भएको हो।
यस्तै, सोही आर्थिक वर्षको वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा पनि नगरपालिका अझ सशक्त देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ८३.५ अंक प्राप्त गर्दै अघिल्लो वर्षको ६८.५ अंकको तुलनामा १५ अंकको सुधार गरेको छ।
स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले गरिएको मूल्याङ्कनमा शंङ्खरापुर नगरपालिकाले ठूलो फड्को मार्न सफल भएको हो ।
नगर प्रमुख रमेश नापितले जनताको विश्वास जित्न र नगरको समग्र विकासमा ध्यान केन्द्रित गर्दा यस्ता उपलब्धिहरू सम्भव भएका हुन् । आगामी दिनमा अझ प्रभावकारी योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ ।
नगरवासीहरूले समेत नगरपालिका प्रशासनको हालको पारदर्शी र सेवा केन्द्रित कार्यशैलीको प्रशंसा गर्दै यस्तै गतिमा विकास कार्य अघि बढ्ने विश्वास गरेका छन् ।
प्रकाशित | २१ भाद्र २०८२, शनिबार १९:१९

