अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं  – सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ। साथै, प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै उक्त निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कूल ७२ जनाको मृत्यु भएको छ। आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएको विवरण छ। घाइतेहरूको उपचार पूर्ण रूपमा निःशुल्क गरिने सरकारको निर्णय छ।

प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइने बताउँदै भन्नुभयो, “रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरू नष्ट भएर ठूलो क्षति पुगेको छ। भवनहरू त फेरि बनाउन सकिन्छ, तर नष्ट भएका अभिलेखहरू पुनः प्राप्त गर्न सम्भव छैन।”

उहाँका अनुसार देशका अत्यन्त संवेदनशील र आवश्यक सरकारी संरचनाहरूलाई लक्षित गरी हमला गरिएको छ। प्रहरीका चौकी, अदालत, सिंहदरबारलगायतका महत्वपूर्ण स्थानमा आगजनी र तोडफोड भएको र सम्पूर्ण प्रहरी कार्यालयका सवारी साधनहरू समेत क्षतिग्रस्त भएको जानकारी दिइएको छ। सरकारले घटनाको पूर्ण अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता पनि जनाएको छ।


प्रकाशित | २९ भाद्र २०८२, आईतवार १८:५२