भक्तपुर — भक्तपुर सूर्यविनायक नगरपालिका वडा नंं ५ सृजनानगर स्थित युरोकिड्स विद्यालयले विद्यार्थीहरूको जन्मदिनलाई नयाँ ढंगले मनाउन थालेको छ। अब विद्यार्थीको जन्मदिन केवल केक काट्ने र उत्सव मनाउने दिनमा मात्र सीमित नगरि सामाजीक कार्यमा पनि लगाउन थालीएको हो । विद्यालयले सुरु गरेको “Euro Helping Fund” अभियानले जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै अपाङ्गता भएका बालबालिकाको जीवनमा आशा थप्ने काम सुरु गरेको छ।
यही अभियान अन्तर्गत विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि संकलित ३५ हजार १४५ रकम इनेबल नेपाललाई हस्तान्तरण गरिएको छ। इनेबल नेपालले हात नभएका बालबालिकालाई निःशुल्क कृत्रिम हात उपलब्ध गराउँदै आइरहेको छ।
कार्यक्रममा विद्यालयका अध्यक्ष नवराज काफ्लेले सहयोग राशी इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। उहाँले यो अभियानको उद्देश्यबारे स्पष्ट पार्दै भन्नुभयो, “हामीले विद्यार्थीहरूको जन्मदिनलाई उत्सवको रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वका रूपमा लिन चाहेका हौं। ‘Euro Helping Fund’ को सुरुवात त्यही सोचको उपज हो।” उहाँले अभिभावकहरूले देखाएको विश्वास र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रकम हस्तान्तरणपछि इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले युरोकिड्स भक्तपुरप्रति विशेष आभार प्रकट गर्नुभयो। उहाँले विद्यालयले देखाएको सामाजिक समर्पणको प्रशंसा गर्दै भन्नुभयो, “यस सहयोगले हात नभएका बालबालिकाहरूको आत्मविश्वास बढाउन मद्दत गर्छ। उनीहरूको दैनिक जीवनमा सहजता ल्याउनुका साथै भविष्यप्रति सकारात्मक सोच विकसित गर्न पनि यस्तो योगदान महत्वपूर्ण छ।” यस्ता अभ्यासहरूले साना बालबालिकामै मानवीयता र सहानुभूतिको भावना विकास गराउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सम्झना गिरीले भन्नुभयो, “हामी विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित राख्न चाहँदैनौं। सानो योगदानले पनि ठूलो परिवर्तन सम्भव छ भन्ने पाठ उनीहरूलाई बाल्यकालमै सिकाउने हाम्रो प्रयास हो।”
सो अवसरमा युरोकिड्स र इनेबल नेपालसँग आवद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले युरोकिड्स भक्तपुरले सुरु गरेको यो सामाजिक उत्तरदायित्वले समुदायमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नु भएको थियो ।







प्रकाशित | २९ भाद्र २०८२, आईतवार १९:४६

