काठमाडौं । देशको पछिल्लो परिस्थितीका कारण यातायात सन्चालन गर्न कठिनाई भएको यातायात व्यवसायीहरुले बताएका छन् । नेपालीहरुको महान् चाड दशै तिहार नजिकिदो भएपनि यातायात सन्चालन सहज नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनु भयो । यातायात सन्चालनका लागि सुरक्षाको सुनिश्चित गर्न पनि उहाँले सरकारसंग आग्रह गर्नु भयो ।
पछिल्लो घटनाक्रमले यातायात क्षेत्रमा निम्त्याएको समस्या लगायतका विषयमा आईतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीसहितका प्रतिनिधिहरूसँग छलफल भएको थियो । जेन–जी आन्दोलनमा भएको हिंसा, आगजनी, तोडफोड र लुटपाटका कारण यातायात व्यवसायी निकै प्रभावित भएकाले सुरक्षा सुनिश्चित गर्न व्यवसायीहरुले आग्रह गरेका हुन् ।
असहज परिस्थीतीलाई सहज बनाउन निकै प्रयासरत रहेको यातायात व्यवसायीहरुले बताएका छन् । यसका लागि समन्वय र सहकार्य गर्न सरोकार सबैसंग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आग्रह गर्नु भयो । उहाँले समय मिलेसम्म दशैं अगावै गन्तब्यतर्फ प्रस्थान गर्न आग्रह गर्नु भयो । यस वर्ष दशैंको टीका असोज १६ गते परेको छ । तथापी अग्रिम टिकट कहिले खुल्ने भन्नेबारे अझै टुंगो लागेको छैन ।
विषम परिस्थीतिलाई मध्यनजर गर्दै घर फर्किनका लागि दशैं नै भनेर नकुर्न पनि उहाँले आग्रह गर्नु भयो । ठूलो संख्यामा कैदीबन्दीहरु जेलबाहिर निस्केकाले सचेत भएर सवारी संचालन गर्न चालक तथा सहचालकहरुलाई महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले आग्रह गर्नु भयो ।
प्रकाशित | ३० भाद्र २०८२, सोमबार १०:५८

