नवनियुक्त मन्त्रीहरुले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ ग्रहण गराउनु भएको हो ।

खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुनुहुन्छ । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आउनुभएको छ भने घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आउनुभएको छ । अधिवक्ता अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उहाँ चर्चामा आउनुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त मन्त्रीहरुले सोमबार आजै सिंहदरबारमा पदबहाली गर्नुहुने जनाइएको छ ।


प्रकाशित | ३० भाद्र २०८२, सोमबार १७:१६