डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पद्बहाली गर्नु भएको छ । पद्बहालीसँगै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने पहिलो निर्णय गर्नुभयो । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गर्नु भएको थियो । तर तत्कालीन सरकारले यसमा रोकावट गर्दै प्राधिकरणबाट हटाएको थियो ।

त्यस्तै, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र चुनौती समाधानका लागि सात दिनभित्रै कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय पनि गरिएको छ । कुलमानले विद्युतको खपत बढाउन भन्दै इन्धन सवारीलाई अब विद्युतीयमा कन्भर्ट गर्नुपर्ने र विद्युतको खपत बढाउने गरी पूर्वाधार बनाउनुपर्ने उहाँको भनाई छ ।

मन्त्री घिसिङले देश राजनीतिक र आर्थिक दुवै हिसाबले कठिन मोडमा रहेको र जनतामा व्यापक निराशा रहेको बताउनुहुँदै आफ्नो नियुक्तिलाई ‘ठुलो आन्दोलन र बलिदानको परिणाम’ भएको र ‘जनतालाई सेवा दिन’ आएको स्पष्ट पार्नुभयो ।

मन्त्री घिसिङले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सेवाप्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिँदै कर्मचारीहरूलाई २४ घण्टामा १८ घण्टा काम गर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयभित्रै सरसफाइजस्ता सामान्य काममा पनि ठेकेदारको भर नपरी आफैं अग्रसर हुन आग्रह गर्दै ‘एक्सन ओरिन्टेड’ भएर काम गर्न निर्देशन समेत दिनुभयो ।

 

 


प्रकाशित | ३० भाद्र २०८२, सोमबार २०:४४