धुलिखेल – धुलिखेल नगरपालिकाले जेनजी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाटजस्ता हिंसात्मक गतिविधिमा संलग्न हुने जो कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
नगर प्रमुख अशोक कुमार ब्याञ्जु एक विज्ञप्ति जारी गर्नुहुँदै आन्दोलनको नाममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गर्ने, सार्वजनिक सेवामा अवरोध पुर्याउने र जनधनको क्षति गर्ने कार्यलाई कदापि सहन नहुने भन्दै ती कार्यमा संलग्नहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण अभिव्यक्तिको अधिकार सबै नागरिकलाई संविधानले दिएको छ। तर त्यसको दुरुपयोग गर्दै अरूको ज्यान, सम्पत्ति र सेवामा क्षति पुर्याउने कार्य अपराध हो र त्यसको जवाफदेही अनिवार्य छ।”
नगरपालिकाले हालै धुलिखेलमा भएका आगजनी र तोडफोड घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता गतिविधिहरूले आन्दोलनको उद्देश्य नै ओझेलमा पारेको जनाएको छ। साथै, यसले स्थानीय समाजमा त्रास र अस्थिरता फैलाउने भएकाले दोषीहरू पहिचान गरी तुरुन्त कानुनी कारबाही अगाडि बढाइने जानकारी पनि दिइएको छ।
नगर प्रमुख ब्याञ्जेले शान्तिपूर्ण रूपमा आवाज उठाउने सबैप्रति समर्थन जनाउँदै भन्नु भएको छ, “आन्दोलनको नाममा अराजकता फैलाउनेहरूलाई कानुनी कठघरामा ल्याएर मात्र स्थायीत्व र सुशासन सम्भव छ।”
धुलिखेल नगरपालिकाले आम नागरिक, विशेषतः युवाहरूलाई, सत्य, तथ्य र मर्यादित अभिव्यक्तिको मार्गबाट सरकारसमक्ष आफ्ना माग राख्न आग्रह गर्दै, हिंसा र तोडफोडबाट टाढा रहन समेत आग्रह गरेको छ ।

प्रकाशित | १ आश्विन २०८२, बुधबार ०९:५६

