काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संघका अध्यक्ष महेश कुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमहरूले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले सार्वजनिक सम्पत्तिमा क्षति पुगेको पछिल्लो ‘जेनजी आन्दोलन’पछि पुनर्निर्माणमा नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ।
संघका प्रवक्ता गंगाधर गौतमले एक बिज्ञप्ति जारी गर्नुहुँदै भदौ २३ र २४ गते नेपालमा भएको आन्दोलनबाट देशका महत्त्वपूर्ण सार्वजनिक संरचनाहरूमा पुगेको क्षतिको पुनःनिर्माणका लागि जिम्मेवार भूमिका निर्वाह गर्न आफूहरू तत्पर रहेको जनाइएको छ। यसै सन्दर्भमा एनआरएनएले हाल ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्दै सडक सुरक्षामा सहयोग पुर्याइरहेको जानकारी पनि दिएको छ।
एनआरएनएका अध्यक्ष श्रेष्ठको नाम जोडेर ‘व्यक्तिगत घर निर्माणका लागि आर्थिक संकलन गरिएको’ भन्ने आशयका केही समाचारहरूमा दुःख व्यक्त गर्दै संघले त्यसप्रति खण्डन गरेको हो । संघले कुनै पनि प्रकारको व्यक्तिगत फाइदाको लागि नभई सरकारसँग सहकार्य गर्दै सार्वजनिक हितका लागि अग्रसर रहेको प्रस्ट पारेको छ।
“हामी नेपाल सरकारसँग मिलेर काम गर्न सधैँ प्रतिबद्ध छौं। विगतका भूकम्प, बाढी, पहिरोजस्ता विपत्तिमा जस्तै यस पटक पनि हाम्रो सक्रियता निरन्तर जारी रहनेछ,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संघका अनुसार हाल पुनर्निर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा नेपाल सरकारका प्रतिनिधिसँग नियमित छलफल भइरहेको छ र पहिलो चरणमा गरिने कार्यहरूको विस्तृत योजना चाँडै सार्वजनिक गरिनेछ।
एनआरएनएले भ्रामक समाचारहरूको पछि नलाग्न आम जनसमुदाय, सञ्चारमाध्यम र सरोकारवालाहरुलाई आग्रह गर्दै जिम्मेवार पत्रकारिताको अभ्यास गर्न समेत अपिल गरेको छ।

प्रकाशित | १ आश्विन २०८२, बुधबार १७:४४

