साउन महिनामा बैंकहरूले कमाए ९ अर्ब ३७ करोड नाफा, कुन बैंकको कति ?

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूले कूल ९ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको नियमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो नाफा अघिल्लो वर्षको साउनको तुलनामा घटेको हो। २०८१ सालको साउनमा बैंकहरूले १० अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए भने आर्थिक वर्षको अन्त्यसम्म कुल ७८ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका थिए।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको छ भने कर्जा प्रवाहमा पनि १८ अर्ब रुपैयाँको गिरावट देखिएको छ। अघिल्लो वर्षको साउनमा भने निक्षेप ५७ अर्बले घट्दा पनि कर्जा ३ अर्बले बढेको थियो, जुन चालु वर्षको साउनमा उल्टो देखिएको छ।

बैंकहरूको पुँजी स्थिति हेर्दा उनीहरूको चुक्ता पुँजी ४ खर्ब ४४ अर्ब ५८ लाख रुपैयाँ पुगेको छ, भने पुँजी कोष ८ खर्ब ४० अर्ब रुपैयाँ नाघिसकेको छ। यस्तै, वाणिज्य बैंकहरूले साउनमा सबैभन्दा धेरै ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएका छन्। विकास बैंकहरूको नाफा करिब ८२ करोड रुपैयाँ रहेको छ भने फाइनान्स कम्पनीहरूले १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

यद्यपि नाफा केही घटेको देखिए पनि बैंकहरूको गैरबैंकिङ सम्पत्ति भने उल्लेखनीय रूपमा बढेको छ। साउन मसान्तसम्म गैरबैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुन बैंकको नाफा कति ?

ग्लोबल आईएमई : ७८ करोड ४५ लाख

नबिल : ७१ करोड ६४ लाख

नेपाल इन्भेष्टमेन्ट मेगा : ६३ करोड ४२ लाख

राष्ट्रिय वाणिज्य बैंक : ५५ करोड ८३ लाख

नेपाल बैंक : ५५ करोड २७ लाख

प्राइम : ५० करोड ५० लाख

कुमारी : ४९ करोड २४ लाख

एभरेष्ट : ४८ करोड ३९ लाख

एनएमबि : ४६ करोड ६८ लाख

हिमालयन : ४० करोड ८९ लाख

सिद्धार्थ : ४० करोड १४ लाख

लक्ष्मी स्‌नराईज : ३९ करोड ४५ लाख

सानिमा : ३९ करोड ३ लाख

एनआईसी एशिया : ३१ करोड ९४ लाख

प्रभु : ३० करोड २३ लाख

सिटिजन्स : २७ करोड २५ लाख

स्ट्यान्डर्ड चार्टर्ड : २७ करोड १६ लाख

माछापुच्छ्रे : २६ करोड ५२ लाख

नेपाल एसविआई : १५ करोड ८९ लाख

कृषि विकास : ३८ लाख

 


प्रकाशित | १ आश्विन २०८२, बुधबार १८:५७