काठमाडौं। देशभित्र अत्याधुनिक भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा गुणस्तरीय पाठ्यक्रमसहितका विश्वविद्यालय र शैक्षिक संस्थाहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भए पनि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरूको संख्या घट्नुको सट्टा झन् बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरणले यही वास्तविकता उजागर गरेको छ।
चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै नेपाली विद्यार्थीहरूले अध्ययनका लागि विदेशमा १४ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही कम भए पनि प्रवृत्तिगत रूपमा विदेशमा अध्ययन गर्न जाने चापमा गिरावट देखिएको छैन। अघिल्लो आवको पहिलो महिनामा शिक्षातर्फको व्यय १४ अर्ब ९६ करोड रुपैयाँ थियो।
सेवा खाता अन्तर्गतको समग्र स्थितिको विश्लेषण गर्दा चालु वर्षको पहिलो महिनामा भ्रमण व्ययमा केही गिरावट देखिएको छ। यस अवधिमा भ्रमणमा खर्च गरिएको रकम २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २२ अर्ब ३२ करोड रुपैयाँ थियो। यसले करिब दुई दशमलव आठ प्रतिशतको कमी दर्शाउँछ।
उता सेवा आयतर्फ भने सुधारको संकेत देखिएको छ। समीक्षावधिमा भ्रमणबाट प्राप्त आय १२ दशमलव सात प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ७७ करोड रुपैयाँ थियो।
यद्यपि समग्रमा सेवा खाताको सन्तुलन अझै नकारात्मक अवस्थामा छ। चालु वर्षको पहिलो महिनामा नेपालले १३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद सेवा घाटा व्यहोर्नुपरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा १५ अर्ब ६ करोड रुपैयाँ थियो, जसबाट घाटा केही घटे पनि आर्थिक भार भने कायमै रहेको देखिन्छ।
नेपाल राष्ट्र बैंकको यस विवरणले मुलुकको शिक्षा र पर्यटनसम्बन्धी आर्थिक प्रवृत्तिहरूको स्पष्ट तस्वीर प्रस्तुत गरेको छ। स्वदेशमै शिक्षाका भरपर्दा पूर्वाधार निर्माण गर्दै विदेशिने प्रवृत्तिमा कमी ल्याउन नीतिगत सुधार आवश्यक देखिन्छ।
प्रकाशित | १ आश्विन २०८२, बुधबार १९:४२

