विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार सक्रिय, कानुनी अवरोध हटाउने तयारी

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउने बाटो खुलाउने तयारी सरकारले सुरु गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग छलफल गरी वैदेशिक मताधिकार सुनिश्चित गर्ने पहलमा सरकार दृढ भएर अगाडि बढेको बताउनुभयो ।

‘विदेशमा रहेका नागरिकको मताधिकारका विषयमा मन्त्रीज्यूसँग सार्थक छलफल भयो। अहिलेको ऐन र नियमले केही हदसम्म अवरोध गर्छ’, प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, ‘ती कानुनी अवरोध कसरी हटाउने भन्नेबारे गहन छलफल भइरहेकै छ, समाधानको बाटो खोजिरहेका छौँ।’

गृहमन्त्री अर्यालले पनि कम्तीमा समानुपातिक प्रणालीअन्तर्गत भए पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनु अत्यावश्यक भइसकेको बताउनुभयो ।।

‘समानुपातिकतर्फ मात्रै भए पनि उनीहरूको मताधिकार सुनिश्चित गर्नु अहिलेको बाध्यात्मक अवस्था हो’, मन्त्री अर्यालले स्पष्ट पार्दै भन्नुभयो, ‘सर्वोच्च अदालतले समेत यसबारे स्पष्ट आदेश गरिसकेको छ। निर्वाचन आयोगले अवरोध पहिचान गरेर सरकारलाई मार्गदर्शन दिनेछ र सरकारले आवश्यक कानुन निर्माणमार्फत प्रक्रिया अघि बढाउनेछ।’

उहाँले विदेशस्थित नेपाली राजदूतावासमार्फत मतदानको व्यवस्था मिलाउने गरी सरकार आवश्यक तयारीमा जुटेको जानकारी दिनुभयो ।

 


प्रकाशित | २ आश्विन २०८२, बिहीबार १७:५५