काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले देशको हालको राजनीतिक परिस्थितिमा सबै जिम्मेवार पक्षलाई समयमै निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिकामा उत्रन आह्वान गर्नुभएको छ। संविधान दिवसको अवसरमा शुक्रबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपतिले प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको बाटो बन्द भएपछि उत्पन्न सङ्कटलाई आम सहमतिबाट समाधान गरिएको स्पष्ट पार्नुभयो। उहाँले अहिलेको अवस्था देशलाई स्थायित्व र लोकतान्त्रिक मर्मअनुसार अघि बढाउने अवसर भएको भन्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रपतिले भन्नुभयो, “राजनीतिक निकासका लागि चालिएको कदम सबैको सहकार्य, समन्वय र सहयोगबाट मात्रै सफल हुन्छ। अब सबै पक्ष निर्वाचनको सफलताका लागि जुट्न जरुरी छ।” उहाँले विशेषतः राजनीतिक दल, प्रशासन, बौद्धिक वर्ग र आमनागरिकलाई पूर्वाग्रह छोडेर निर्वाचनमा जुट्न आग्रह गर्नुभयो।
उहाँले संविधानले सबै नेपालीलाई समानता र स्वतन्त्रताको अधिकार दिएको उल्लेख गर्दै सबै जात, धर्म र सम्प्रदायको सम्मानसहितको समाज निर्माणको मार्ग संविधानले देखाएको बताउनुभयो। “हामीले प्राप्त गरेको यो युगीन उपलब्धिलाई रक्षा गर्नु आजको प्रमुख जिम्मेवारी हो,” राष्ट्रपतिको भनाइ थियो।
राष्ट्रपति पौडेलले आफ्नो युवावस्थादेखिको राजनीतिक यात्रा स्मरण गर्दै भन्नुभयो, “१७ वर्षको उमेरमा राजनीति थाल्दा जसरी जनताको पक्षमा उभिने संकल्प लिएको थिएँ, आज पनि त्यही भावनासहित यो जिम्मेवारी सम्हालिरहेको छु।”
उहाँले संविधान दिवसका दिन सबै नेपालीले लोकतन्त्र, सुशासन र निष्ठाप्रति प्रतिबद्धता व्यक्त गर्नुपर्ने भन्दै, “राजनीति, राज्य र शासनलाई नैतिकता र मूल्यमा आधारित गरौं” भन्ने आह्वान गर्नुभयो।
राष्ट्रपतिले भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति समवेदना व्यक्त गर्दै भन्नुभयो, “एक अभिभावकका रूपमा म ती परिवारको पीडा महसुस गर्न सक्छु।” उहाँले ती युवाहरूको देशप्रतिको प्रतिबद्धता र जागरुकता स्मरण गर्नुभयो।
संविधानले देखाएको समाजवादउन्मुख आर्थिक लक्ष्य प्राप्त गर्न सामाजिक सुरक्षा, समान पहुँच र समावेशी विकास अपरिहार्य भएको उल्लेख गर्दै, सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी सृजना, वातावरणीय दिगोपन र सामाजिक न्याय आजको प्राथमिकता हुनुपर्ने बताउनुभयो।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकाय प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो।
प्रकाशित | ३ आश्विन २०८२, शुक्रबार १८:१४

