काठमाडौँ — गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी तथा निजी भौतिक संरचनामा ठूलो मात्रामा क्षति पुगेको छ । उक्त क्षतिको आधारमा हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दावी परेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ।
बीमा प्राधिकरणका अनुसार हालसम्म १ हजार ९८४ वटा बीमा दावी दर्ता भएका छन्। यी दावीहरू देशका विभिन्न १८ वटा बीमा कम्पनीमा परेका हुन्। सबैभन्दा धेरै दावी ‘दि ओरियन्टल इन्स्योरेन्स कम्पनी’ मा परेको देखिएको छ, जसमा ४० वटा दावीबाट कुल पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँ बराबरको बीमा दावी दर्ता भएको छ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ वटा दावी परेको छ भने त्यसबाट चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५०० रुपैयाँ बराबरको माग दर्ता भएको छ। शिखर इन्स्योरेन्स कम्पनीमा ३६६ वटा दावीबाट दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रुपैयाँको दावी परेका छन्। आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दावी परेको छ, जसको मूल्य एक अर्ब ५९ करोड छ लाख ८० हजार ८०० रहेको छ।
सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट, नेको, सानिमा जिआईसी, राष्ट्रिय बीमा, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु इन्स्योरेन्स लगायतका अन्य कम्पनीहरूमा पनि सयौं संख्यामा बीमा दावी परेका छन्, जसको मूल्य करोडौं रुपैयाँको छ।
त्यस्तै, माइक्रो इन्स्योरेन्स कम्पनीहरू—जसमा प्रोटेक्टिभ, स्टार, नेपाल माइक्रो र ट्रष्ट माइक्रो—मा पनि केही बीमा दावी परेका छन्, यद्यपि ती रकम तुलनात्मक रूपमा साना छन्।
नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दावी छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। सङ्घले बीमा गरिएका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रहसमेत गरेको छ।
बीमा दावीको मूल्य र संख्याबाट आन्दोलनको प्रभाव कति व्यापक थियो भन्ने स्पष्ट हुन्छ। अब बीमित पक्षले समयमै राहत पाउने आशा गरिएको छ।
प्रकाशित | ४ आश्विन २०८२, शनिबार १३:१३

