घटस्थापनाको दिनबाट कालिञ्चोक जाने केवलकार फेरि संचालनमा आउँदै

दोलखा  — केही समयदेखि स्थगित रहेको कालिन्चोक केवलकार सेवा फेरि सञ्चालनमा आउने भएको छ। कालिन्चोक दर्शन लिमिटेडले एक सूचना जारी गर्दै घटस्थापनाको दिनदेखि नियमित रूपमा सेवा सुचारु हुने जनाएको हो । यसअघि जेनजी आन्दोलनको नाममा अज्ञात समूहद्वारा तोडफोड भएपछि केवलकार सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।

दशैंको पूर्वसन्ध्यामा सेवा पुनः सञ्चालनमा आउनुले कालिन्चोक जाने श्रद्धालुहरूका लागि ठूलो राहत मिलेको छ। समुद्री सतहदेखि करिब ३ हजार ८०० मिटरको उचाइमा अवस्थित कालिन्चोक भगवती मन्दिर नेपालको एक प्रमुख धार्मिक गन्तव्य हो, जहाँ प्रत्येक वर्ष हजारौँ भक्तजनहरू पूजाआजा तथा दर्शनका लागि पुग्ने गर्छन्। यस्तो उचाइमा पैदल यात्रा कठिन हुने भएकाले केवलकार सेवा धेरैको लागि सहज र सुरक्षित विकल्प बन्दै आएको छ ।

तोडफोडपछि केही समय सेवा स्थगन गर्नु परे पनि कम्पनीले सुरक्षाको थप तयारी सहित सेवा पुनः सुचारु गर्न लागेको जनाएको छ। घटस्थापनाबाट सुरु हुने सेवा सँगै दशैं, तिहार र छठ पर्वमा भक्तजनहरूको ओहोरदोहोरमा सहजता आउने अपेक्षा गरिएको छ।

कालिन्चोकको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले नेपालभित्र र बाहिरका श्रद्धालु तथा पर्यटकलाई आकर्षित गर्दै आएको छ। यस्तो समयमा केवलकार सेवा पुनः सञ्चालनमा आउनुले यात्रालाई अझ व्यवस्थित र सुरक्षित बनाउने निश्चित छ।


प्रकाशित | ४ आश्विन २०८२, शनिबार १८:५०