समृद्ध नेपालको यात्रामा गैर आवासीय नेपालीहरु बीचको एकता अपरिहार्य छ: गौरीराज जोशी

काठमाडौँ : नेपाल हालसालै नयाँ राजनीतिक, सामाजिक र आर्थिक संक्रमणको दौरबाट गुज्रिरहेको छ । युवा वर्गको सहभागिता र सचेतना बढेसँगै देशले सुशासन, पारदर्शिता र द्रुत आर्थिक विकासतर्फ गति लिँदैछ । यिनै परिवर्तनको पृष्ठभूमिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले विदेशमा रहेका नेपाली समुदायलाई समेत एकताबद्ध भई सुधार र समावेशिताको दिशामा अघि बढ्न आग्रह गर्नुभएको छ ।

महासचिव जोशीले विदेशमा रहेका नेपालीहरूमाझ एकता नहुनु, एनआरएनएभित्र देखिएको द्विविधा र विग्रहले संस्थाको विश्वसनीयता र कार्यक्षमता दुवैमा आँच आएको उल्लेख गर्दै अब समग्र संगठनलाई पुनर्गठन गर्नुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले अहिलेको परिवर्तित परिस्थितिलाई देश र विदेश दुवैतर्फबाट सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ । विदेशमा रहनुभएका नेपालीहरूले देशको समृद्धिमा अझ सशक्त भूमिका खेल्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै, त्यसका लागि एनआरएनएभित्रको संरचनात्मक समस्याको समाधान अपरिहार्य रहेको बताउनुभएको छ ।

गौरीराज जोशीले वर्तमानमा एनआरएनएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समितिहरूमा देखिएको विभाजन अन्त्य गर्न विशेष पहल आवश्यक रहेको विचार व्यक्त गर्नुभएको छ । उहाँले एनआरएनएलाई विवादमुक्त, पारदर्शी र सबैलाई समेट्ने संस्थामा रुपान्तरण गर्नका लागि वर्तमान नेतृत्वहरूलाई विस्थापित गरी नयाँ सन्दर्भअनुसार नयाँ संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँको प्रस्तावअनुसार संस्थाका मूल अभियन्ता तथा स्थापित व्यक्तित्वहरूलाई संयोजकत्वमा राखेर एउटा साझा कार्यसमिति गठन गरी, त्यसैको नेतृत्वमा निष्पक्ष निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिनु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ ।

महासचिव जोशीले विगतका कमजोरीहरूप्रति आत्मस्वीकृति जनाउँदै आफू जुनसुकै त्याग गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । पदको मोहभन्दा संस्थाको भविष्यमाथि ध्यान केन्द्रित गर्दै उहाँले सबैलाई समेट्ने सुधार प्रक्रियामा अग्रसर हुन आग्रह गर्नुभएको हो ।

उहाँको विचारमा, वर्तमानमा सर्वोच्च अदालतमा विचाराधीन एनआरएनएसम्बन्धी मुद्दाहरूलाई समेत आपसी सहमतिबाट समाधान गर्ने प्रयास गर्नु आवश्यक देखिन्छ । त्यसले गर्दा संस्थामा पुनः स्थायित्व आउने र विश्वभर फैलिएका नेपालीहरूको साझा आवाजलाई बल पुग्ने उहाँको विश्वास छ ।

नेपालको वर्तमान परिस्थिति देशभित्रमात्र सीमित नरही, विश्वभर फैलिएका नेपालीहरूको चेतना र सहभागितासँग समेत गाँसिएको उल्लेख गर्दै जोशीले विदेशमा रहेका सबै नेपालीहरूलाई एनआरएनएभित्रको सुधार, सशक्तीकरण र लोकतान्त्रिक अभ्यासमा सक्रियरूपमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

महासचिव जोशीले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन विदेशमा रहेका नेपालीहरूको योगदान अझ महत्त्वपूर्ण हुने बताउँदै, अहिलेको समय फुट होइन, जुटको भएको स्मरण गराउनुभएको छ । संस्थालाई सशक्त बनाउँदै देश र जनताका पक्षमा क्रियाशील रहनुपर्ने बेला आएको उहाँको स्पष्ट सन्देश छ ।


प्रकाशित | ४ आश्विन २०८२, शनिबार २१:३०