निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति, यथाशीघ्र सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न माग

काठमाडौँ — जेनजी आन्दोलनका क्रममा मुलुकभर निजी क्षेत्रले झण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रका प्रतिनिधिहरूबीच भएको विशेष छलफलमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रारम्भिक विवरणका आधारमा निजी सम्पत्तिमा व्यापक क्षति पुगेको र अझै यथार्थ विवरण आउँन बाँकि रहेको जानकारी दिनुभयो।

अध्यक्ष ढकालका अनुसार विशेषगरी ठूला उद्योग, साना व्यवसाय र राजधानी बाहिरका व्यावसायिक इकाइहरू आन्दोलनका कारण अत्यधिक प्रभावित भएका छन्। उहाँले महासंघले देशभरि क्षतिको विस्तृत विवरण संकलन गरिरहेको उल्लेख गर्दै कतिपय ठाउँबाट विवरण आउन बाँकी रहेकोले हालको ८० अर्ब रुपैयाँको अनुमान प्रारम्भिक मात्र रहेको स्पष्ट गर्नुभयो।

उहाँले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनु मुलुकको आर्थिक मेरुदण्डप्रति बेवास्ता भएको संकेत भएको बताउनुभयो। यस प्रकारको घटनाले निजी लगानीमाथि गम्भीर शंका पैदा गराउने भएकाले यथाशीघ्र शान्ति, सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले निजी क्षेत्रले मुलुकको कुल गार्हस्थ उत्पादनमा ८१ प्रतिशत योगदान दिँदै आएको र ८६ प्रतिशत रोजगारी सृजना गरिरहेको तथ्य प्रस्तुत गर्दै यस्तो महत्वपूर्ण क्षेत्रमाथि आक्रमण हुनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको धारणा व्यक्त गर्नुभयो।

 


प्रकाशित | ५ आश्विन २०८२, आईतवार १६:१७