प्रमुख १० सहरका सावर्जनिक स्थानमा निःशुल्क वाइफाइ
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नु भएको छ । सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभयो ।
पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा ५ महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय भएको हो ।
मन्त्री खरेलले आफ्नो कार्यकाल जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी काम गर्ने अठोट व्यक्त गर्नुभयो । मन्त्रालयमा पदभार ग्रहण गरेपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर निष्कलंक सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभएको हो।
उहाँले भन्नुभयो, “अब हामी खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी केही पक्कै गर्छौं। यो सरकारमा रहेका हामी सबै मन्त्रीहरूको सोच एउटै छ — देश पहिला, जनता पहिला। बाँकी कुरा त्यसपछि मात्र आउँछ।”
मन्त्री खरेलले नेपाल सरकारको कर्मचारीतन्त्रप्रति विश्वासको भावना व्यक्त गर्दै उल्लेख गर्नुभयो कि यदि कर्मचारीहरूलाई स्वतन्त्र र दबाबरहित वातावरण प्राप्त भयो भने, उनीहरूले उल्लेखनीय परिणाम दिन सक्छन्।
उहाँले भन्नुभयो, “यदि नेताको गोटी बन्नु नपरोस् भने, हाम्रो ब्युरोक्रेसीले चमत्कार देखाउन सक्छ। लोकसेवा त्यत्तिकै पास गरेको हुँदैन। हाम्रा कर्मचारीहरू दक्ष छन्, अनुभवी छन् र योग्य छन्।”
उहाँले आफू ‘हुकुम गर्ने मन्त्री’ नभई ‘सिक्ने र सहकार्य गर्ने मन्त्री’ बन्न चाहेको स्पष्ट पार्नुभयो। सचिवज्यूको उपस्थितिमा बोल्दै उहाँले भन्नुभयो, “तपाईंका मन्त्रालयमा रहेका सम्पूर्ण कर्मचारी अनुभवी हुनुहुन्छ। कृपया ढुक्क भएर काम अघि बढाउनुहोस्। मेरो तर्फबाट कुनै पनि ठाउँमा हस्तक्षेप हुनेछैन। म तपाईंबाट सिक्न चाहन्छु। म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु — विश्वास छ होइन, विश्वास गर्न चाहन्छु। र, त्यो विश्वासलाई मजबुत बनाउन म हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
प्रकाशित | ६ आश्विन २०८२, सोमबार १९:२३

