काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना: ६ हजारभन्दा बढी प्रहरी परिचालन, ड्रोनद्वारा निगरानी

काठमाडौं:  चाडपर्वलाइ लक्षित गर्दै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनै जिल्लामा व्यापक प्रहरी परिचालनका साथ सुरक्षा व्यवस्था कडा पारिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार,उपत्यकामा मात्रै ६ हजार १०६ जना सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको छ। सुरक्षाकर्मीहरूलाई विभिन्न क्लस्टरमा विभाजन गरी निश्चित जिम्मेवारीसहित परिचालित गरिएको हो।

दशैं, तिहार तथा छठ पर्वजस्ता अवसरहरूमा विगतमा चोरी, डकैती, लुटपाटलगायत आपराधिक गतिविधिहरूमा वृद्धि हुने गरेका कारण यस वर्ष थप सतर्कताका साथ रणनीति तयार पारिएको छ। विशेषतः चाडपर्व मनाउन गाउँ जाने क्रमसँगै उपत्यकामा डेरा तथा घरहरू सुनसान हुने हुँदा त्यसको फाइदा उठाई आपराधिक क्रियाकलापहरू हुन सक्ने आशंका प्रहरीको छ।

उक्त सम्भावनालाई ध्यानमा राखी पैदल र साइकल गस्ती, नाकाहरूमा डग स्निफिङ, सादा पोशाकका प्रहरीहरूको परिचालन, सीआरभी र क्यूआरटी युनिटहरूको तयारी अवस्थामा परिचालन लगायत विविध उपायहरू अवलम्बन गरिएका छन्। साथै, भीडभाड हुने व्यापारिक क्षेत्र, सपिङ मल, बैंक तथा वित्तीय संस्थामा समेत निगरानीका लागि विशेष प्रहरी परिचालन गरिएको जनाइएको छ।

यात्रुहरूको सुविधाका लागि उपत्यकाबाट बाहिर जाने विभिन्न १७ स्थानमा ट्राफिक प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। टिकटको कालोबजारी, अभाव, वा महँगीजस्ता समस्याको समाधान सोही सहायता केन्द्रमार्फत गरिने व्यवस्था मिलाइएको जानकारी प्राप्त भएको छ। त्यस्तै, तीनवटै जिल्लामा गरी ७८ स्थानमा थप यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

ड्रोनमार्फत निगरानी तथा सर्भिलेन्सको व्यवस्था गरिएको र सिसिटिभी क्यामेरा प्रयोगद्वारा पनि निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइएको जनाइएको छ। कुनै पनि आकस्मिक घटनाको स्थिति आएमा ५ देखि १० मिनेटभित्र प्रहरी टोली पुग्ने व्यवस्था मिलाइएको समेत जानकारी गराइएको छ।

यसपटक कारागार र हिरासतबाट कैदी तथा थुनुवा फरार भइरहेका घटनाहरूको पृष्ठभूमिमा प्रहरीले अझ उच्च सतर्कता अपनाएको छ। सम्भावित अपराधका रूपमा लुटपाट, चोरी, डकैती, सवारी दुर्घटना, तस्करी, मदिरा सेवनबाट हुने झैझगडा, ट्राफिक उल्लंघन, जुवातास, कालोबजारी, कृत्रिम अभाव सिर्जना, हिट एन्ड रन, ड्रिंक एन्ड ड्राइभ, ठगी, चिठ्ठाको लोभमा पर्ने घटनाहरू लगायत थुप्रै विषयहरूलाई लक्षित गरिएको छ।

यी सम्भावित जोखिमहरू न्यूनीकरण गर्न उपत्यकाका १८ वटै वृत्तहरूमा डिएसपीको कमान्डमा विशेष टोली गठन गरिएको छ। लङ रेन्ज तथा सर्ट रेन्ज गस्ती, मोबाइल गस्ती, क्यूआरटी टोलीको तयारी, नाकामा एम्बुसिङ चेकिङ, सिल एन्ड सर्च, कर्डन सर्च लगायतका उपायहरू समेत अपनाइएको जानकारी दिइएको छ।

उपत्यकावासी सबैलाई उच्च सतर्कता अपनाउन घर र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा सहायता कक्षमा जानकारी गराउन अनुरोध समेत गरिएको छ।


प्रकाशित | ७ आश्विन २०८२, मंगलवार १९:५८