काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलका शीर्ष नेताहरूको पासपोर्ट (राहदानी) रोक्का गर्ने विषयमा राज्य संयन्त्रले गम्भीरतापूर्वक अध्ययन गरिरहेको स्पष्ट पार्नु भएको छ । बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खरेलले सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘रोक्का गर्ने विषयमा भ्रष्टाचार, अनियमितता र अन्य आपराधिक घटनासँग सम्बन्धित जुनसुकै अवस्थाबारे राज्यका सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका छन्। राहदानीको सन्दर्भमा पनि के गर्न सकिन्छ भन्नेबारे अध्ययन अगाडि बढाइएको छ ।’
भदौ २४ गते बुढानीलकण्ठस्थित शेर बहादुर देउवाको निवासमा भएको तोडफोड तथा आगजनीको क्रममा राहदानी जलेको वा हराएको अनुमान गरिएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागको टोली देउवा निवास पुगेको थियो। त्यहाँबाट केही प्रमाण (मुचुल्का) संकलन गरिएको छ। देउवा निवासमा नगद रकम भेटिएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा सो छानबिन अगाडि बढाइएको हो।
त्यस्तै, पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि भिडिओ सार्वजनिक भएको थियो, जसमा प्रदर्शनकारीहरूले पैसा फालिरहेको देखिएको छ। उक्त घटनापछि सो घरमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले पुगेर मुचुल्का संकलन गरेको हो।
प्रकाशित | ९ आश्विन २०८२, बिहीबार २०:५९

