ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी जाँचबुझ आयोगले प्रहरीलाई नै फिर्ता गरिदिएको छ । आयोगले बिहीबार जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निवेदन र कागजात फिर्ता पठाइदिएको हो ।

एक विज्ञप्ति जारी गर्दै आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी अभियोगमा विस्तृत अनुसन्धान गरी कसूरदार देखिने अवस्थामा अभियोजन गर्ने कार्य आयोगको क्षेत्राधिकारमा नपरेकाले जाहेरी फिर्ता पठाइएको बताउनुभयो । काठमाडौं प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले काम गरिरहेको भन्दै जाहेरी दर्ता गरेको थिएन । जाहेरी सिधै आयोगमा पठाइदिएको थियो ।

‘फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानूले अख्तियारी प्रदान गरेको विदितै छ,’ आयोगले भनेको छ, ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२०६र२१ को प्रेस विज्ञप्तिको प्रतिलिपिसाथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाइदिने ।’

उल्लेखित आयोगको विज्ञप्तिमा फौजदारी कसुरमा संलग्नलाई सरकारका संयन्त्रबाट अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने भनिएको छ । आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको भनिएको थियो । तीन दिनअघि ओली र लेखकविरुद्ध जाहेरी लिएर सुधन गुरुङ जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।


प्रकाशित | २३ आश्विन २०८२, बिहीबार १९:१७