काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गर्न सकिने कारोबार अधिकतम सीमा घटाएको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यो सीमा घटाएको हो । हालसम्म डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न पाइने व्यवस्था थियो । त्यस्तै, दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । नयाँ निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइन्छ ।
अन्य कार्डका हकमा भने कारोबार सीमा यथावत राखिएको छ । यस अनुसार प्रिपेड कार्डमा प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा कायम रहेको छ ।
बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा समेत यथावत राखिएको छ । क्रेडिट कार्डको सीमा पनि परिवर्तन भएको छैन । यस्तो कारोबार एटीएम, एमपोस मेसिन वा कार्ड प्रयोग गरेर गरिने अन्य भुक्तानी माध्यमका लागि समेत लागु हुनेछ ।
प्रकाशित | २४ आश्विन २०८२, शुक्रबार १९:००

