काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर बढ्दो तनावले पार्टीको आन्तरिक राजनीतिलाई नयाँ मोडमा पु¥याएको छ । विशेष र नियमित महाधिवेशनबीचको विवाद चर्किंदै गएपछि पार्टीका केही नेताहरू सहमतिको बाटो खोज्न सक्रिय देखिएका छन् ।
यसै सन्दर्भमा नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले अनौपचारिक छलफलको श्रृंखला सुरु गर्नु भएको छ । पार्टीभित्र देखिएको असहमति कसरी न्यूनिकरण गर्न सकिन्छ र साझा सहमतिमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा कोइरालाले आफ्ना पक्षीय नेताहरूसँग गम्भीर परामर्श गर्नु भएको छ । तर कोइरालाको पछिल्लो राजनीतिक कदमलाई लिएर पार्टीभित्र प्रश्न पनि उठिरहेका छन्। सुरुमा विशेष महाधिवेशनको पक्षमा उभिएका कोइरालाले पछिल्लो समय सभापति शेरबहादुर देउवालाई साथ दिएको आरोप महामन्त्री गगन थापा पक्षका नेताहरूले लगाउँदै आएका छन्। यसको जवाफमा कोइरालाले कार्यसम्पादन समितिमा बहुमतले गरेको निर्णय स्वीकार गर्नु आफ्नो बाध्यता भएको स्पष्ट पार्नु भएको छ । पार्टीको आन्तरिक विवादले संगठनलाई कमजोर बनाउने भन्दै कोइराला पक्षधर नेताहरू संयमित धारणा राख्नुपर्ने पक्षमा देखिएका छन्।
कोइरालाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका प्रतिनिधिहरूसँग समेत छलफल गर्ने तयारी थाल्नु भएको छ । यसले उहाँ सहमतिको भूमिकामा रहन खोजिरहेको संकेत गर्छ ।
यता, केन्द्रिय कार्यसम्पादन समितिले आगामी वैशाखको अन्त्यमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने पुष महिनामै विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन्। यही दुई धारको टकरावले कांग्रेसभित्रको विवाद थप गहिरिँदै गएको छ ।
यसैबीच, महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको कानूनी आधारबारे कानूनी व्यवसायीहरूसँग परामर्श गरेका छन्। छलफलका क्रममा दुवै नेताले विशेष महाधिवेशनको मुद्दाबाट आफूहरू पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।
कांग्रेसभित्रको यो शक्ति संघर्ष महाधिवेशनको मितिमा सीमित छैन । यो नेतृत्व, निर्णय प्रक्रिया र पार्टीको भावी दिशासँग गाँसिएको मुद्दा बनेको छ । सहमतिको प्रयास सफल हुन्छ कि आन्तरिक द्वन्द्व अझ चर्किन्छ, त्यसको उत्तर कांग्रेसको आगामी कदमले दिनेछ ।
प्रकाशित | २० पुष २०८२, आईतवार १०:४२

