काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकतापछिको पहिलो केन्द्रीय समिति बैठकमा प्रवेश गर्दैछ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकलाई संगठनात्मक मात्र नभई राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको छ । केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरण मुख्य एजेन्डा रहनेछ । तर बैठकको वास्तविक राजनीतिक महत्व भने पुस १४ गते भएको भनिएको एकतापछिको शक्ति सन्तुलनसँग गाँसिएको छ ।
ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच एकता भएको दाबीपछि राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा भएको थियो । यद्यपि यी व्यक्तित्वहरू परम्परागत पार्टी संरचनाभन्दा बाहिर चिनिएका भएकाले यो एकतालाई कतिपयले राजनीतिक सहकार्य, कतिपयले विचारात्मक नजिकपनका रूपमा व्याख्या गरेका छन् ।
रास्वपाको सबैभन्दा ठूलो शक्ति भनेकै नयाँपन, नागरिक असन्तुष्टिको प्रतिनिधित्व र वैकल्पिक राजनीतिको दाबी हो । बालेन शाहजस्ता लोकप्रिय स्थानीय नेतृत्व र कुलमान घिसिङजस्ता परिणाममुखी प्रशासकसँग जोडिएको छविले रास्वपाको जनअपील थप बलियो बनाएको देखिन्छ । तथापी पार्टीभित्र औपचारिक निर्णय प्रक्रिया र अनौपचारिक लोकप्रिय नेतृत्वबीचको सन्तुलन, प्रदेश र स्थानीय तहमा अझै कमजोर संगठन, एकतापछिको भूमिका बाँडफाँड र नेतृत्व व्यवस्थापन लगायतका विषयहरूमा स्पष्टता नआएसम्म एकताको राजनीतिक लाभ पूर्ण रूपमा संस्थागत हुने देखिँदैन ।
आगामी निर्वाचनलाई केन्द्रमा राखेर हेर्दा शहरी क्षेत्रमा युवा, शिक्षित र परिवर्तन चाहने मतदाता रास्वपाको पक्षमा छन् । सामाजिक सञ्जाल र वैकल्पिक सञ्चार माध्यममा बलियो उपस्थिति रास्वपाको बलियो पक्ष हो । तर ग्रामीण भेगमा भने संगठन कमजोर रहेको छ । गठबन्धन राजनीतिमा अनुभवको कमी रहेको रास्वपाको कमजोरी पक्ष हुन् ।
यदि रास्वपाले एकतापछिको उत्साहलाई संरचनागत मजबुतीमा बदल्न सक्यो भने शहरी र अर्ध–शहरी क्षेत्रमा प्रतिस्पर्धी मात्र होइन, निर्णायक शक्ति बन्न सक्ने सम्भावना छ । तर त्यसका लागि यही केन्द्रीय समिति बैठकबाट स्पष्ट राजनीतिक रोडम्याप आउनु अनिवार्य छ । एकतापछिको पहिलो बैठकले यदि स्पष्टता, एकता र कार्ययोजना दिन सक्यो भने रास्वपाले नेपाली राजनीतिमा आफ्नो उपस्थितिलाई स्थायी चुनौतीका रूपमा स्थापित गर्न सक्छ । नत्र, उत्साहपूर्ण सुरुवात अपेक्षाको भारीमा दबिने जोखिम पनि उत्तिकै छ ।
प्रकाशित | २० पुष २०८२, आईतवार ११:१९

