काठमाडौं । अमेरिकाले भेनेजुयलामा आक्रमण गरेपछि विश्व तरगिंत बनेको छ । महिनौदेखिको राजनीतिक र कुटनीतिक तनावका बीच भेनेजुयलाको राजधानी कराकासका विभिन्न स्थानमा बिस्फोटका घटना भएको हो । भेनेजुयलामाथि लागुऔषध तस्करीलाई प्रश्रय दिएको आरोप लगाउँदै आएको अमेरिकाले आक्रमण गरेको हो ।
आक्रमण र विस्फोटका घटनापछि भेनेजयलाका राष्ट्रपति निकोलास मदुरोलाई नियन्त्रणमा लिएको छ । उहाँकी पत्नीलाई समेत नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मदुरोलाई नियन्त्रणमा लिएको दाबी गरेका ट्रम्पले आफ्नो अभियान सफल भएको भन्दै सैनिक र योजनाको प्रशंसा गरेको समाचारमा जनाइएको छ ।
भेनेजुयलाका अधिकारीहरुले अमेरिकाको सैन्य आक्रमणको कडा निन्दा गर्दै देशभर प्रतिकार गर्न आह्वान गरेका छन् ।
पछिल्ला महिनामा ट्रम्प प्रशासनले मदुरोमाथि लागुऔषध तस्करी र आपराधिक समूहसँग सम्बन्ध भएको आरोप लगाउँदै आर्थिक नाकाबन्दी समेत लगाउँदै आएको छ । सन् २०२५ को अगस्टको अन्त्यदेखि अमेरिकाले क्यारिबियन क्षेत्रमा ठूलो संख्यामा सेना, युद्धपोत र विमान तैनाथ गरेको थियो ।
अमेरिकी सेनाले लागुऔषध तस्करीको आरोपमा साना जहाजहरुमा आक्रमण गरेको र त्यसक्रममा धेरै मानिसको ज्यान गएको अमेरिकी अधिकारीहरुले बताएका छन् । अघिल्लो साता अमेरिकाले भेनेजुएलाको तेल उद्योगलाई लक्षित गर्दै केही ट्यांकर नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएका थिए ।
यसैबीच भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणलाई लिएर केही देशले विरोध जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएको घोषणा गरेपछि रुस र इरानसहितका देशहरुले विरोध गरेका हुन् ।
इरानले अमेरिकी आक्रमणलाई भेनेजुएलाको “राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको घोर उल्लंघन” भन्दै निन्दा गरेको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकाको कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
भेनेजुयलाको सबैभन्दा नजिकको छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गर्नु भएको छ ।
उहाँले आफ्नो जनसङ्ख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक सङ्ख्यासँग जुध्नका लागि सीमामा सेना तैनाथ गर्न पनि आदेश दिनु भएको छ ।
संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा अमेरिकी आक्रमणपछि राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरिएको भन्ने सूचनाले राष्ट्रसङ्घ ‘गम्भीर रूपमा चिन्तित बनेको’ बताएको छ। यस किसिमका घटनाको वृद्धि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन रहेको उसको ठहर छ । सो बारे विश्वभरि नै चिन्ता र चासो बढेको छ ।
प्रकाशित | २० पुष २०८२, आईतवार १२:०१

