काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको आवश्यकता र औचित्यलाई लिएर बहस तीव्र बनेको छ। पार्टी विधानअनुसार विशेष महाधिवेशन माग गरिएको भए पनि त्यसलाई पार्टी विभाजनसँग जोडेर व्याख्या गरिएको भन्दै कांग्रेसको एक पक्षले आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टीका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको माग विधानले दिएको अधिकारको प्रयोग भएको दाबी गर्दै यसलाई पार्टी कमजोर बनाउने प्रयासका रूपमा चित्रण गर्नु गलत भएको बताउनु भयो । विशेष महाधिवेशनको उद्देश्य पार्टीभित्र विग्रह ल्याउनु नभई बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका, नेतृत्व र नीतिमाथि गम्भीर समीक्षा गर्नु रहेको उहाँले स्पष्ट पार्नु भयो ।
पार्टीभित्र विशेष महाधिवेशनमा सहभागी नहुन नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरूलाई दबाब, फोन र चेतावनी दिइएको आरोपसमेत उठेको छ। ‘पार्टी फुट्छ भन्ने डर देखाएर सहभागी नहुन दबाब दिइँदै छ,’ भन्दै महामन्त्री थापाले यस्तो गतिविधि जिम्मेवार पार्टी आचरण विपरीत भएको टिप्पणी गर्नु भयो ।
कांग्रेस नेतृत्वको एक हिस्साले नियमित महाधिवेशनको कार्यतालिका घोषणा भइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको तर्क गरिरहेका बेला अर्को पक्षले भने विधानको स्पष्ट व्यवस्था कार्यान्वयन गर्नुपर्ने अडान लिएको छ। पार्टी विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशन आह्वान गर्न सकिने व्यवस्था गरेको उल्लेख गर्दै यसलाई विभाजनसँग जोड्नु विधानको अपव्याख्या भएको उनीहरूको भनाइ छ ।
भदौ २३ र २४ गते भएका घटनापछि देशको राजनीतिक अवस्था गम्भीर रूपमा परिवर्तन भएको भन्दै कांग्रेसभित्र त्यसको समीक्षा र आत्ममूल्यांकन अपरिहार्य भएको आवाज उठिरहेको छ। ‘भदौ २२ अघि र भदौ २५ पछिको राजनीतिक परिस्थिति एउटै छैन,’ भन्दै कांग्रेस नेताहरूले नागरिक असन्तुष्टि, पार्टीको भूमिका र भावी रणनीतिबारे खुला बहस आवश्यक रहेको बताएका छन्।
विशेष महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरू पार्टीविरोधी नभई विधानअनुसारको अधिकार प्रयोग गरिरहेका जिम्मेवार सदस्य भएको दाबी गरिएको छ। पार्टीभित्र संवाद र सहमतिमार्फत अघि बढ्न सके कांग्रेस एकताबद्ध रहने र संगठन थप सुदृढ हुने उनीहरूको विश्वास छ ।
आगामी २७ र २८ गते आयोजना हुने भनिएको विशेष महाधिवेशनलाई एक पक्षले पूर्ण रूपमा विधानसम्मत भएको बताउँदै पार्टी सभापतिलाई समेत सहभागी हुन आग्रह गरेको छ। सभापतिको उपस्थितिले पार्टीको गरिमा बढ्ने र सहमतिको वातावरण निर्माण हुने उनीहरूको धारणा छ।
प्रकाशित | २५ पुष २०८२, शुक्रबार १२:३२

